गान्तोक, 5 जनवरीः कोभिड-19 भ्याक्सिनेशनलाई लिएर सिक्किम पूर्ण रुपले तयार रहेको स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा टी भोटियाले दावी गरेका छन्।
उनले आज आफ्नो कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै राज्यमा भर्खरै 9 देखि 14 वर्ष उमेरका 33 हजार छोरीहरूलाई लिएर सम्पन्न गरिएको एचपीभी भ्याक्सिनेशनको जनशक्ति, पूर्वाधार र अनुभवले कोभिड भ्याक्सिनेशनमा सहयोग पुग्ने बताए।
एचपीभी भ्याक्सिनेशन मिशन मोडमा गरिएको तर कोभिड 19 भ्याक्सिनेशन मिशन मोडमा नहुने उल्लेख गर्दै उनले कोभिड 19 भ्याक्सिन एकैपल्टमा सबैलाई लगाउनु नपर्ने बताए।
स्वास्थ्य विभागले भारत सरकारको निर्देशिकाअनुसार भ्याक्सिनेशनलाई लिएर तयारी गरिरहेको डा. भोटियाले बताए।
भारत सरकारको निर्देशअनुसार भ्याक्सिनेशनमा पहिलो प्राथमिकता स्वास्थ्यकर्मीहरूलाई दिइने, जसका लागि विभागले स्वास्थ्यकर्मीहरूको नाम पञ्जीकरण गरिसकेको उनले जानकारी गराए।
त्यसपछि फ्रन्टलाइन वर्करहरूलाई टीका लगाइने र त्यसको पनि तथ्याङ्क विभागले तयार पारिसकेको र भारत सरकारको निर्देश आउनसाथ वेबसाइटमा अपलोड गरिने उनले बताए।
तेस्रो चरणमा 50 वर्षभन्दा अधिक उमेरकाहरूलाई टीका लगाइने जसको तथ्याङ्क सङ्कलन गर्न स्वास्थ्य विभागले चुनाउ आयोगको सहयोग लिइरहेको डा. भोटियाले बताए।
त्यसपछि मात्र 50 वर्षभन्दा कम उमेरका अन्य रोगका बिमारीहरूलाई टीका लगाइने उनले थप बताए।
पत्रकारहरूले सोधेको एउटा प्रश्नको जवाफमा राज्यमा भ्याक्सिन राख्नका लागि सबै आवश्यक पूर्वाधार उपलब्ध रहेको डा. भोटियाले बताए।
उनले बताएअनुसार सम्भवतः भारतमा अक्सफोर्डमा निर्माण गरिएको 2देखि 8 डिग्री सेल्सियस तापमानमा राखिने कोभिशिल्ड भ्याक्सिन नै ल्याइनेछ।