कोलकाता, 5 फरवरी : चिटफण्ड घोटालाको सन्दर्भमा कोलकाताका पुलिस आयुक्त राजीव कुमारसँग सीबीआईले केरकार गर्ने कोशिश गरेपछि सिर्जित झमेलाबीच भाजपा र सीबीआईको कारबाहीविरुद्ध आइतबार रातिदेखि धरनामा बसेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मङ्गलबार आफ्नो धरना समाप्त गरेकी छन्।
उनले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुसहित विपक्षी दलहरूसँग विचार-विमर्ष गरेपछि धरना समाप्त गर्ने घोषणा गरिन्।
यसअवसरमा ममता ब्यानर्जीले सुप्रिम कोर्टको आदेशलाई आफ्नो ठूलो जीत बताएकी छन्। सुप्रिम कोर्टले कोलकाताका पुलिस आयुक्त राजीव कुमारलाई केरकारका लागि सीबीआईअघि उपस्थित हुने निर्देश दिए तापनि अहिले नै राजीव कुमारलाई पक्राउ गर्न नपाउने बताएको छ।
अर्कोतिर ममताले 13 र 14 फरवरीको दिनमा दिल्लीमा धरना दिनेछिन्।
“मैले सिङ्गुर मामिलामा 26 दिनसम्म धरना दिएको थिएँ। नन्दीग्रामको आन्दोलनअवधि 14 दिनसम्म धरना दिएको थिएँ। म अझै धरना दिन सक्छु। तर सबै विपक्षी पार्टीको आग्रहमा धरना समाप्त गरेकी हुँ”, उनले थपिन्, “दिल्लीमा एक व्यक्तिले शासन चलाइरहेका छन्। देशमा प्रजातन्त्र छैन। एकतन्त्र चलिरहेको छ। हामी भाजपालाई हराउनेछौं। र सत्ताबाट हटाउनेछौं। यो धरना संविधान र गणतन्त्रको रक्षाका लागि थियो।”