गान्तोक, 5 फरवरी : सीबीआईलाई भाजपाले आफ्नो राजनीतिक फाइदाका लागि दुरुपयोग गरिरहेको आरोपलाई विनय तामाङले पुनः दोहोर्याएका छन्।
मङ्गलवार भाजपा र सीबीआईको कारबाहीविरुद्ध धरनामा बसेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई नैतिक समर्थन जनाउन उनको नेतृत्वमा पाँच सदस्यीय टोली कोलकाता पुगेको थियो। यो टोलीलाई विनय तामाङले नै नेतृत्व गरेका थिए भने टोलीमा अनित थापा, सञ्चवीर लिम्बू तथा विधायकद्वय डा. रोहित शर्मा र अमरसिंह राई पनि सामेल थिए।
आज एक प्रेस विज्ञप्ति जारी गरी विनय तामाङले यसबारे जानकारी गराएका छन्।
उनले विज्ञप्तिमा यसबारे जानकारी गराउँदै लेखेका छन्, “शारदा चिटफण्डको मुद्दामा केन्द्र सरकारले सीबीआईको दुरुपयोग गर्दै पश्चिम बङ्गालमा अशान्ति सृष्टि गर्न खोजिरहेको षड़यन्त्रविरुद्ध पर्खाल बनेर उभिएकी पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं तृणमूल नेतृ ममता ब्यानर्जीलाई पहाड़वासीको नैतिक समर्थन एवं साथ-सहयोग प्रदान गर्न आज गोजमुमोको प्रतिनिधि टोली कोलकातामा चलिरहेको जनआन्दोलनमा सहभागी बनेको छ।”
तामाङले विज्ञप्तिमा धरनामा आफूले नेपाली भाषामा सम्बोधन गरेको जानकारी गराउँदै पहाड़का कुनै पनि नेताले आफ्नो मातृभाषामा यति ठूलो राजनीतिक मञ्चबाट सम्बोधन गरेको पहिलोचोटि रहेको दाबी गरेका छन्।
“मैले भाजपाको उक्त अगणतान्त्रिक नीतिको घोर प्रतिवाद जनाए”, उनले भनेका छन्। केन्द्रियस्तरको सबैभन्दा उच्च र स्वतन्त्र जाँच संस्थालाई भाजपाले सत्ताको शक्ति प्रयोग गरी राजनीतिक हतियारको प्रयोग गर्नु भनेको समग्र भारतवासीकै लागि खतराको सङ्केत रहेको आफ्नो सम्बोधनमा भनेको पनि विनयले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसका साथै सीबीआईजस्तो महत्त्वपूर्ण संस्थाको राजनीति स्वार्थ पूरा गर्न खुल्ला रूपमा दुरुपयोग गरेको घटना अति दुर्भाग्यपूर्ण र लज्जास्पद घटना रहेको तथा भाजपाको उक्त अगणतान्त्रिक र गैरकानुनी काण्डविरुद्ध गोजमुमो मुख्यमन्त्री ममता ब्यानर्जीको पक्षमा तथा यसै कारण आफूहरू कोलकाता धरनामा बनी भाजपाको कालो कर्तुतको विरोध रहेको पनि बताए।
विज्ञप्तिमा उल्लेख गरेअनुसार गोजमुमोको पक्षमा दार्जीलिङ र खरसाङका विधायकद्वय अमरसिंह राई र डा. रोहित शर्माले पनि सम्बोधन राखेका थिए।
“आजको सुप्रिम कोर्टको फैसलालाई सम्मान गर्दै ममता ब्यानर्जीले कोलकाताको धरनालाई स्थागित राख्ने घोषणा गरेकी छिन्”, विज्ञप्तिमा विनय तामाङले थप लेखेका छन्, “आज मुख्यमन्त्री ममता ब्यानर्जीले आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुलगायत तेस्रो मोर्चाका नेतृत्वहरूसँग एक बैठक बसेर सुप्रिम कोर्टको फैसला नैतिक जीत रहेकोले ममता ब्यानर्जीले उक्त धरना स्थगित गरेकी हुन्। धरना फिर्ता लिए तापनि भाजपाविरुद्ध दिल्ली मा आन्दोलन भने जारी रहने पनि मुख्यमन्त्रीले घोषणा गरेकी छन्।”
विज्ञप्तिका अनुसार जीटीए बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का अध्यक्ष विनय तामाङ र मुख्यमन्त्री ममता ब्यानर्जीले आउँदो 8 र 9 फरवरीको दिन कोलकातामा सम्पन्न भइरहेको बेङ्गल बिजिनेस मीटमा सहभागी बन्नेछन्। यसको आधिकारिक निम्तो राज्य सरकारको तर्फबाट पाइसकेको पनि बताइएको छ।
यसपछि 13 फरवरीको दिन दिल्लीको साकेटमा कुल 32 लाखको लागतमा निर्मित गोर्खा भवनको पनि मुख्यमन्त्री ममता ब्यानर्जी र उनले उद्घाटन गर्ने विज्ञप्तिमा तामाङले बताए। यसको भोलिपल्ट 14 फरवरीको दिन दिल्लीमा सम्पन्न हुने तेस्रो मोर्चाको सभामा उनले सहभागिता जनाउने विज्ञप्तिमा जानकारी गराएका छन्।