एनआरसी र सीएएसँग डराउनु भनेको सुवास घिसिङलाई झूटो साबित गर्नु होः जिम्बा

0
1729
नीरज जिम्बा (फाइल फोटो)।

दार्जीलिङ, 5 फरवरीः  दार्जीलिङका विधायक नीरज जिम्बाले एनआरसीले पहाड़को इस्कुस, मुण्टा र जरालाई नछुने आफ्नो दाबीलाई दोहोर्‍याउनका साथै एनआरसी, सीएए र एनपीआरको विरोध गरिरहेका गोरामुमो नेताहरूमाथि कटाक्ष गरेका छन्।

विशेषगरी जिम्बाले एनआरसी र सीएएसम्बन्धमा गोरामुमोको पछिल्ला बयानहरूलाई केन्द्र गरी गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीलगायत अन्य नेतृत्वहरूमाथि कटाक्ष गरेका हुन्।

जिम्बाका अनुसार सीएए, एनआरसी र एनपीआरको विरोध गरी गोरामुमोका नेताहरूले स्व. सुवास घिसिङको कोर आइडियोलजीलाई झूट साबित गर्ने प्रचेष्टा गरिरहेका छन्।

“जसले सुवासवादलाई मान्छन्, उनीहरू एनआसी, सीएए र एनपीआरसँग डराउनु भनेको सुवासलाई झूटो देखाउनु हो। सुवासवादलाई चुनौती दिनु हो”, उनले भनेका छन्।

जिम्बाका अनुसार गोरामुमोका नेताहरूले अहिले सीएए, एनआरसी र एनआरपीविरुद्ध जुन प्रकारले बयान दिइरहेका छन्, त्यसले सुवास घिसिङको त्याग-तपस्या र भारतीय गोर्खाहरूलाई प्रथम दर्जाको नागरिकको मान्यता दिलाउने योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेको पनि बताए।

जिम्बाले भने, “अस्तिसम्म हामीले भारतका प्रथम दर्जाको नागरिक हौं भनेर गोर्खा नागरिकता मनाएका हौं। त्यसो भए अहिले सीएए, एनआरसी र एनपीआरसँग डराउनेहरूले कुन सन्दर्भमा गोर्खा नागरिकता दिवस मनाए”, जिम्बाले थपे,  “22 अगस्त 1988 मा भएको सम्झौताको दस्तावेज देखाएर यो हाम्रो ब्रह्मास्त्र हो, यो हाम्रो सञ्जीवनी बुटी हो भनेका थियौं।”

उनले थपे, “यदि त्यो सञ्जीवनी बुटी हो भने एनआरसी, सीएएले हामीलाई कसरी छुन्छ? हामीमाथि कसरी लागू हुन्छ? सुवास घिसिङको फिलोसफी, त्याग-तपस्या र योगदानलाई झूटो साबित गर्नु हो।”

यसैबीच, आफ्नो राजनीतिक जीवनको अन्तिम चरणमा गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङले मिरिकको जनसभामा ‘नागरिकता’-माथि दिएको भाषण सुन्नका लागि विधायक जिम्बाले गोरामुमो नेताहरूलाई सुझाएका छन्।

साथै उनले गोरामुमोले उठाइरहेको छैटौं अनुसूचीको मुद्दा समय सान्दर्भिक रहेको बताउँदै तर यसैका लागि लागि सीएए, एनआरसी र एनपीआरको विरोध नै गरिहाल्नु भने ठीक नरहेको ठहर गरेका छन्।

जिम्बा स्वयं पनि गोरामुमो स्टेरिङ कमिटीका सदस्य हुन्। तर, यी भाजपा विधायकका अनुसार पछिल्लो स्टेरिङ कमिटीको बैठकबारे उनलाई थाह छैन, जुन बैठकमा सीएए, एनआरसी र एनपीआरको विरोध गर्ने निर्णय लिइएको छ।

यसै निर्णयअनुसार गोरामुमोले लगातार यी तीनवटै कानून र प्रक्रियाको विरोध गर्दै आइरहेको छ। साथै आगत दिनमा सड़कमा ओर्लेर विरोध गर्ने पनि गोरामुमोले बताइसकेको छ।

अर्कोतिर, उनले आफ्नो महेन्द्र छेत्रीसँग कुनै प्रकारको राजनीतिक मतभेद नरहेको र दुवैको कोर आइडियोलजी सुवासवाद नै रहेको बताए।

“गोरामुमोभित्र पनि तृणमूल, माकपा, कङ्ग्रेस र भाजपापन्थी हुनसक्छन्”, उनले भने, “कतिजना गोरामुमो भएरै भाजपाको लाइनमा बोल्नसक्छन् भने कतिजना गोरामुमोकाहरू तृणमूलको लाइनमा पनि बोल्न सक्छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here