राज्यका बेरोजगारहरूको विवरण सङ्ग्रह गर्दै डीवाईएफआई, विवरण सूची प्रधानमन्त्रीलाई बुझाउने

0
1486
बेरोजगारहरूको विवरण सङ्ग्रह गर्दै डीवाईएफआई कार्यकर्ताहरू।

दार्जीलिङ, 5 फरवरीः मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-को युवा एकाई डेमोक्रेटिक युथ फेडरेशन अफ् इण्डिया (डीवाईएफआई)-ले आज दार्जीलिङबाट 788 भन्दा अधिक बेरोजगारको  विवरण सङ्ग्रह गर्‍यो।

डीवाईएफआईले आउँदो 28 फरवरीसम्म राज्यभरिबाट 50 हजारभन्दा अधिक बेरोजगारको विवरण सङ्ग्रह गरेर देशका प्रधानमन्त्रीसमक्ष पेश गर्ने लक्ष्य राखेको यसका राज्य कमिटी सचिव सयनदीप मित्रले बताएका छन्।

“देशको वर्तमान केन्द्र सरकारले बेरोजगारबारे कुनै कुरा नै गरेको छैन। एनआरसी, एनपीआर र सीएएजस्ता मुद्दाहरू अघि ल्याएर देशका जनताको ध्यान बेरोजगारी समस्याबाट विपरीत दिशातिर आकर्षित गर्ने कार्य गरिरहेको छ”, उनले थपे, “यसैले डीवाईएफआईले देशका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै देशभरिका जनताको ध्यान देशमा बढ़िरहेको बेरोजगारीतिर आकर्षित गराउने पहल शुरु गरेको हो। यसैले हामी देशमा सीएए (नागरिकता संशोधन कानून)–को साटो बीएए (बेरोजगारी एबोलिशन एक्ट) ल्याउने माग गर्छौं।”

मित्रका अनुसार बेरोजगारी साथै अन्य विभिन्न समस्या विषय लिएर डीआईएफआईले आउँदो 12 फरवरीको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई तथा 28 फरवरीका दिन दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चार्जशीट दिनेछ।

यसैबीच, गत 31 जनवरीदेखि शुरुगरिएको बेरोजगार विवरण सङ्ग्रहको क्रममा आजसम्म डीवाईएफआईले 4,500 अनलाइन फर्म भरिसकेको डीवाएफआई दार्जीलिङ जिल्ला सभापति सचिन खातीले जानकारी गराए, जसमा अनलाइन फर्म भर्नेहरूका नाम, उमेर, शैक्षिक योग्यता र ठेगाना आदिको आवश्यक रहने भएको उनले बताए।

बुधवार स्थानीय चोकबजारमा राखिएको यस बेरोजगार विवरण सङ्ग्रह गर्ने शिविरमा धेरै  बेरोजगार युवक-युवती देखिएका थिए। यसरी नै डीवाईएफआईले भोलि मिरिकमा पनि यस्तै एनआरबी शिविर लगाउने योजना बनाएको छ।

“भारत स्वतन्त्र भएदेखि यता वर्तमान भाजपा सरकारको समय देशमा सबैभन्दा बेसी बेरोजगारी समस्या बढ़ेर गएको छ। गत सेप्टेम्बर महीनामा मात्रै हामीले राज्यमा बेरोजगारको सर्वेक्षण गर्दा 10 लाखभन्दा अधिक बेरोजगारले आफ्नो नाम दर्ता गरेका थिए”, खातीले थपे, “जुन नामहरूको सूची लिएर नै डीवाईएफआईले कलकत्ता अभियान चलाएको थियो, जसमाथि राज्य पुलिसले लट्ठी प्रहार पनि गरेको थियो।”

तरै पनि आउँदो 12 फरवरीको दिन सातबुँदे माग लिएर फेरि डीवाईएफआईले उत्तरकन्या अभियानको चाँजो मिलाएको उनले बताएका छन्।

उनका अनुसार जुन दिन डीवाईएफआईले सिलगढ़ीको एयरभ्यू मोड़ (वर्तमान नाम-महात्मा गान्धी मोड़)-बाट एक र्‍याली निकालेर उत्तरकन्यासम्म जाने निर्णय लिएको छ।

डीवाईएफआईले राज्यभरिकै बेरोजगारहरूको विवरण सङ्ग्रह गरी आउँदो 28 फरवरीको दिन देशका प्रधानमन्त्रीको हातमा हस्तान्तरण गर्ने योजना बनाएको छ।

साथै यसले बेरोजगारीमाथि आफ्नो अभियान नै शुरु गरेको छ अनि राज्यसँगै दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा कति बेरोजगार छन्, त्यसको विवरण सङ्ग्रह गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here