दार्जीलिङ, 5 फरवरीः केन्द्रको सत्तासीन भारतीय जनता पार्टी (भाजपा) सरकारले चाँड़ोभन्दा चाँड़ो गोर्खाल्याण्ड राज्य गठनका लागि पहल शुरु गर्नुपर्ने माग विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले गरेको छ।
साथै स्थायी राजनीतिक समाधान भनेकै गोर्खाल्याण्ड रहेकोले गोर्खाल्याण्डबाहेक अरू स्थायी राजनीतिक समाधान नमान्ने पनि बताएको छ। बुधवार यस्तो माग गर्दै विनयपन्थी मोर्चाले दार्जीलिङ पहाड़मा पोस्टरिङ गरेको छ।
पोस्टरमा एकातिर दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान कतै बोडोहरूले प्राप्त गरेको नयाँ परिषद्जस्तै त हुनेछैन भन्ने आशङ्का गरेको छ भने अर्कोतिर स्थायी राजनीतिक समाधान के हो, त्यसबारे सांसद राजु विष्टले जवाब दिनुपर्ने बताइएको छ।
‘गोर्खाहरूले कहिलेसम्म स्थायी राजनीतिक समाधान कुरेर बस्नुपर्ने? सांसद राजु विष्ट जवाब देऊ’, त्यस्तै अर्को पोस्टरमा भनिएको छ, ‘खोइ केन्द्रिय विश्वविद्यालय, खोइ जनजातिको मुद्दा? सांसद राजु विष्ट जवाब देऊ।’
यसका साथै गोर्खाल्याण्डबाहेक अरू स्थायी व्यवस्था नमान्ने, बोडोहरूलाई जस्तो गोर्खालाई बोरोमा हाल्न नदिने पनि विनयपन्थी मोर्चाले पोस्टरमार्फत् बताएको छ।
यसबारे बोल्दै विनयपन्थी मोर्चाका नेता पुरण थामीले भने, “भाजपाले दार्जीलिङ पहाड़का जनतालाई दिएको स्थायी राजनीतिक समाधानको वाचा बोडोल्याण्डजस्तो नयाँ परिषद् हुनुहुँदैन। हाम्रो माग छुट्टै राज्य गोर्खाल्याण्ड हो। यसैले भाजपाले आफ्नो वाचाअनुरूप स्थायी राजनीतिक समाधानमार्फत् जतिसक्दो चाँड़ो छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नु पर्छ।”
यसैबीच उनले राजु विष्टको भूमिकामाथि प्रश्न तेर्साउँदै स्थायी राजनीतिक समाधान के हो, त्यसबारे सांसद विष्टले चाँड़ोभन्दा चाँड़ो स्पष्ट पार्नुपर्ने तथा भाजपा सरकार पूर्ण बहुमतमा रहेको कारण सांसदले संसदमा गोर्खाल्याण्डको माग उठाउनुपर्ने माग गरे।
अर्कोतिर उनले आफ्नो पार्टीको माग जनजातिको मान्यता पाउनबाट छोड़िएका 11 जातगोष्ठीलाई जनजातिको दर्जा र पहाड़मा केन्द्रिय विश्वविद्यालयको स्थापना रहेको पनि बताए।
यी मागहरूको सम्बन्धमा भाजपाले वाचा गरे तापनि अहिलेसम्म पूरा नगरेको विनयपन्थी मोर्चाका नेता पुरण थामीको भनाइ छ।
यसका साथै उनले आफ्नो पार्टीले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि गणतान्त्रिक र शान्तिपूर्ण आन्दोलन शुरु गर्ने बताएका छन्।