एसडीएफले सिक्किमको अस्तित्व र भविष्य रक्षासँग कुनै सम्झौता नगर्ने

0
648

गान्तोक, ५ फरवरीः सिक्किमको अस्तित्व र भविष्य रक्षाका लागि सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)- पार्टीले कुनै सम्झौता नगर्ने दाबी पवन चाम्लिङको छ।

पच्चिस वर्ष सिक्किमको सत्ता सम्हालेका चाम्लिङ एसडीएफ पार्टीका अध्यक्ष हुन्।

आज पार्टी मुख्यालयमा आयोजित केन्द्रीय कार्यकारी समितिको सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

चाम्लिङका अनुसार यसपालिको विधानसभा चुनाउ सिक्किमका लागि अस्तित्व बचाउने अन्तिम अवसर हो। यसैले पनि यस चुनाउमा सिक्किम र सिक्किमेली जनताका हक, अधिकार अनि सिक्किमको अस्तित्व बचाउन  एसडीएफको जीत अति आवश्यक रहेको उनको भनाइ छ।

“चुनाउमा एसडीएफको जीत भए मात्र सिक्किम र सिक्किमेली जनताको जीत हुनेछ”, उनले थपे, “बितेको पाँच वर्ष सिक्किम र सिक्किमेली जनताले एसकेएम सरकारमा दुःखै मात्र पाएका छन्। यी पाँच वर्ष सिक्किमका लागि कालो वर्ष बनेको छ।”

एसडीएफ अध्यक्षको आरोप छ – एसकेएम सरकार सिक्किमेली जनताको रक्षक नभएर भक्षक बनेको छ। साथै विकासको सट्टा भ्रष्टाचार  मात्र गरेको छ।

उनले आफ्ना पार्टी कार्यकर्ताहरूलाई जनतामा गएर एसकेएम सरकारले सिक्किम र सिक्किमेली जनताको हितविपरीत के कस्ता काम गरेको छ, ती सबैको खुलासा गर्न आग्रह पनि गरे।

यसैबिच चाम्लिङले एसडीएफ पार्टी सिक्किम र सिक्किमेली जनताको हक हितको सुरक्षाका लागि प्रतिबद्ध रहेको तथा सिक्किम र सिक्किमेली जनताका हक-हितको सुरक्षामा अलिकति पनि सम्झौता नगर्ने थप दाबी गरे।

उनले भने, “सिक्किमको भविष्य बचाउनका लागि, सिक्किमको अस्तित्व बचाउनका लागि अनि सिक्किम र सिक्किमेको भविष्य बचाउनका लागि म आफ्नो ज्यान दिन पनि तयार छु।“

चाम्लिङले नै अध्यक्षता गरेको यस सभामा आगामी विधान सभा र लोक सभा चुनाउलाई लिएर महत्त्वपूर्ण छलफल गरिएको थियो।

यस अवसरमा पार्टीको सिक्किम बचाउ अभियान गीत सिक्किमिज, जनजनमा मनमनमा पवन-लाई उनले  लोकार्पण गर्दै सिक्किमेली जनतालाई समर्पण गरे।

आजको सभालाई युवा मोर्चाका महासचिव प्रकाश ली, मुख्य प्रवक्ता एम.के. सुब्बा, वरिष्ठ उपाध्यक्ष के. टी. ग्याल्छेन, वरिष्ठ उपाध्यक्ष पी.डी. राईले पनि सम्बोधन गर्दै आउँदो चुनाउका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here