कालेबुङ, 5 मार्च : नेपाली साहित्यका सुपरिचित व्यङ्ग्य कवि मोतीप्रसाद शर्माको निधन भएको छ। विगत डेढ़ वर्षदेखि ओछ्यान परेका शर्माको मङ्गलबार बिहान 10.45 बजे कालेबुङको छिबो बस्तीस्थित निजी निवासमा निधन भएको हो।
उनी 56 वर्षका थिए। उनले आफूपछि पत्नी, दुई छोरा, एक छोरी, बुहारी र नाति छोड़िगएका छन्। उनको अन्तिम संस्कार भोलि बिहान 10 बजे लाबरबोटेस्थित टिस्टा नदीमा गरिने पारिवारिक सूत्रले जानकारी दिएको छ।
नब्बेको दशकदेखि साहित्यमा चर्चित बनेका मोतीप्रसाद शर्माको व्यङ्ग्यशैली ‘सुनचरी’ दैनिकमा ‘मोती मुक्ता’-को नाममा मुक्तकहरू प्रकाशित हुनथालेपछि आम जनमानसमा समेत स्थापित बन्नपुगेको हो।
नब्बेकै दशकमा उनको एउटा कविता सङ्ग्रह ‘सरिता’ र एउटा गीति क्यासेट पाठकहरूमाझ आइसकेका थिए। उनका अनेकौं फुटकर कविता विभिन्न दैनिकमा प्रकाशित छन्।
27 नोभेम्बर, 1962 मा जन्मिएका मोतीप्रसाद शर्मा गोर्खा जनमुक्ति मोर्चा (विमल समूह) -का केन्द्रिय समिति सदस्य रहेका थिए। 8 जून 2017 –देखि शुरु भएको गोर्खाल्याण्ड आन्दोलनमा उनी भूमिगत बन्नपरेको थियो। त्यसैबेला उनलाई ब्लड क्यान्सर भएको पत्तो लागेको थियो। उनी क्लुनी कलेज, कालेबुङमा अध्यापक थिए।
‘सुनचरी’, ‘हिमकस्तुरी’लगायतका पत्रिकासँग प्रत्यक्ष जोड़िएर काम गरेका थिए।
उन्मुक्तिको मार्गका झुक्दै नझुक्ने गोर्खा शिर गुमायौं : विमल
मोतीप्रसाद शर्माको निधनमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले गहिरो शोक प्रकट गरेका छन्। मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गुरुङले भनेका छन्, “एक असल व्यक्ति समाज हितैषी कवि, जातीय उन्मुक्तिको मार्गमा सशक्त योद्धा अनि झुक्दै नझुक्ने गोर्खा शिर मोतीप्रसाद शर्माको अचानक निधन भएको खबर सुन्दा गोर्खा आकाशको एउटा चम्किलो तारा झरेको अनुभव भो। हाम्रो माटो र परिचयको लड़ाइँमा उहाँ हाम्रा सहयोद्धा हुनुहुन्थ्यो।”
उनले विज्ञप्तिमा थप लेखेका छन्, “उहाँ कहिल्यै नथाक्ने बौद्धिक योद्धा हुनुहुन्थ्यो, क्यान्सरजस्तो भयानक रोगले पनि उनलाई थकाउन सकेन। अन्तिम क्षणसम्म जातिप्रति उनको निष्ठालाई रोगले थलाउन सकेन। उहाँले हामीलाई अथक सङ्घर्षको पाठ सिकाएर जानु भएको छ।”
शर्माको निधन गोर्खा समाज र नेपाली साहित्यका लागि एउटा अपुरणीय क्षति बताउँदै गुरुङले उनको आत्माले बैकुण्ठवास गरून् तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।
असल नेतृत्व र प्रेरणादायी आन्दोलनकारीलाई गुमाइ पठाएका छौं : विनय
मोती प्रसाद शर्माको निधनमा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) -को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) –का अध्यक्ष विनय तामाङले गहिरो शोक व्यक्त गरेका छन्। मङ्गलवार शर्मालाई श्रद्धाञ्जलि चढ़ाउन तामाङ छिबो पनि पुगेका थिए।
सोशल मीडियामा शोक सन्देश पोस्ट गरेका तामाङले भनेका छन्, “गोर्खाल्याण्ड आन्दोलनका एक कर्मठ योद्धा अनि गोर्खा जनमुक्ति मोर्चाका स्थापनाकालदेखि नै केन्द्रिय नेतृत्वको रूपमा योगदान प्रदान गर्दै आइरहेका कालेबुङ निवासी मोतीप्रसाद शर्माको निधन भएको दुःखद खबर सुनेर आहत बनेको छु।”
उनले थप भनेका छन्, “पार्टी अनि गोर्खाल्याण्ड आन्दोलन दुवै क्षेत्रमा जोश- उत्साह र प्रेरणा थप्ने तथा आफै पनि पूर्णरूपले सहभागी बनेर अविस्मरणीय योगदान प्रदान गर्ने मोती प्रसाद शर्माको निधनलाई मैले पहाड़को अपुरणीय क्षतिको रूपमा लिएको छु। स्व. मोतीप्रसाद शर्माको रूपमा हामीले एक असल नेतृत्व र प्रेरणादायी आन्दोलनकारीलाई गुमाइ पठाएका छौं। उनको आत्माले चिर शान्ति प्राप्त गरून् भनी प्रार्थना गर्दछु साथै शोकाकुल परिवारलाई हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।”