कोलकाता, 5 मार्चः तृणमूल कङ्ग्रेसले विधानसभा चुनाउका लागि आज 291 सिटमा आफ्नो उम्मेदवारको सूची जारी गरेको छ।
यद्यपि तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाड़का तीनवटा आसनका लागि भने आफ्नो उम्मेदवारको घोषणा गरेन। अर्थात् पहाड़का तीनैवटा सिट तृणमूल कङ्ग्रेसले छोड़ेको छ।
आज पार्टी सुप्रिमो ममता ब्यानर्जीले यी 291 उम्मेदवारको सूची जारी गरेकी हुन्।
यसपटक तृणमूल कङ्ग्रेसले 42 जना मुस्लिम उम्मेदवारलाई मैदानमा उतारेको छ। त्यहीं 51 महिलालाई टिकट दिइएको छ।
यसैगरी टिकट पाएकाहरूमा 79 अनुसूचित जाति (एससी) र 17 अनुसूचित जनजाति (एसटी) समुदायबाट छन्।
अर्कोतिर तृणमूल कङ्ग्रेसले यसपटक वर्तमान 28 विधायकलाई भने टिकट दिएन।
यसैबीच, तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी नन्दीग्रामबाट चुनाउ लड़्नेछिन्। यसपटक उनी भवानीपुरबाट चुनाउ लड़नेछैनन्।
शोभनदेव च्याटर्जीलाई भवानीपुर सिटबाट टिकट दिइएको छ। केही दिनअघि तृणमूल कङ्ग्रेसमा सामेल भएका क्रिकेटर मनोज तिवारी हावड़ाको शिवपुरबाट चुनाउ लड़्नेछन्। त्यहीं अभिनेत्री सायन्तिका ब्यानर्जीलाई बाँकुड़ाका उम्मेदवार बनाइएको छ। डाबग्राम-फूलबारीबाट गौतम देव, सिलगढ़ीबाट प्रा. ओमप्रकाश मिश्र, मतिगढ़ा-नक्सलबारीबाट क्याप्टेन नलिनी रञ्जन रोयलाई टिकट दिइएको छ।
त्यस्तै कालचिनीबाट पासाङ लामाले टिकट पाएका छन्।
उम्मेदवारहरूको सूची जारी गर्दै ममताले भनिन्, “म नन्दीग्रामबाट चुनाउ लड़्नेछु। 9 मार्चका दिन नन्दीग्राम जानेछु र 10 मार्चका दिन हल्दियामा नामाङ्कन भर्नेछु।”
यसैबीच, दार्जीलिङका तीनवटा सिट तृणमूल कङ्ग्रेसले छोड़ेपछि अब भाजपा गठबन्धन, विमलपन्थी मोर्चा र विनयपन्थी मोर्चाबीच त्रिकोणीय भिड़न्त हुने भएको छ।
दुवैवटा मोर्चाले आ-आफ्नो उम्मेदवार खड़ा गर्ने अगावै घोषणा गरिसकेको छ।