11 अप्रेलपछि सिक्किममा एसडीएफको अस्तित्व रहनेछैन : गोले

0
1475
नामथाङ-रातेपानी पुगेका एसकेएम अध्यक्ष पीएस गोले।

गान्तोक, 5 अप्रेल : सत्तारूढ़ एसडीएफ पार्टीले  अहिलेसम्मका चुनाउहरू जनतालाई ढाँटेरै जितिरहेको आरोप विपक्षी एसकेएमका अध्यक्ष पीएल गोलेले लगाएका छन्। तर यसपटक सिक्किमका जनताले एसडीएफको झूटो राजनीतिलाई नपत्याउने दाबी पनि उनले गरेका छन्।

एसकेएम अध्यक्षले भने, “पवन चामलिङ सिक्किमका मुख्यमन्त्री होइनन्। उनी व्यापारी हुन्। उनी व्यापारी भएकोले नै औद्योगिक एकाइहरूमा लेबर कन्ट्र्याक्ट हटाएको छैन। किनभने  यो लेबर कन्ट्र्याक्ट हटाएको खण्डमा उनलाई कुनै नाफा हुँदैन।”

दक्षिण सिक्किमस्थित नामथाङ-रातेपानी समष्टिको कटेङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले एसडीएफ पार्टीलाई सत्ताबाट हटाउनका लागि  युवाहरूलाई तयार बस्ने आह्वान गरे।

“एसडीएफ पार्टीलाई सघाएर बेरोजगार बन्न चाहनुहुन्छ कि एसकेएमलाई जिताए स्वरोजगार बन्नुहुन्छ, तपाईंहरू आफै निर्णय गर्नुहोस्। मुख्यमन्त्री चामलिङले जे बोल्छन्, त्यो कहिले पूरा गर्दैनन्। सबै उल्टा हुन्छ।  न युवाहरूलाई मर्न दिन्छ, न त अघि बढ़्न। एसडीएफले युवाहरूलाई केवल प्रयोग गर्छ”, एसकेएम अध्यक्षले भने।

उनले युवाहरूलाई परिवर्तनका लागि सङ्कल्पित बन्ने आह्वान पनि गरे। साथै सचेत भएर टेबल ल्याम्पमा भोट हाल्ने अपील गरे।

 गोलेले भने, “सिक्किमका जनता अब लाटा छैनन्। जनताले व्यवस्था परिवर्तन गर्ने सङ्कल्प गरिसकेका छन्। जनता होशियार बस्नपर्नेछ। अब एसकेएमको सरकार बनिनेछ। एसकेएमले चामलिङले जस्तो विधायक किन्नेछैन।  विधायकहरूका लागि समष्टि समष्टिमा विधायक भवन र कार्यालय बनाएर 15 दिन समष्टिका जनताको काम गर्नुपर्ने कानून बनाउनेछौं।”

यसअवधि उनले एसकेएमको सरकार बनेको खण्डमा सिक्किमका सबै राजनीतिक मुद्दालाई इमानदारीपूर्वक सम्बोधन गरी समाधान गर्ने ठोकुवा गरे।

“11 अप्रेलपछि सिक्किममा एसडीएफ पार्टीको कुनै अस्तित्व रहनेछैन। सिक्किमका जनताले एसडीएफको नामनिशान मेटाइदिनेछन्”, गोलेले दाबी गरे, “मुख्यमन्त्री चामलिङ दुवै समष्टिबाट हार्नेछन्।”

उनले आफूलाई नामथाङ-रातेपानीका जनताले ठूलो गुण लगाएको र यो गुणलाई कहिले नभुल्ने बताए।

सभामा समष्टिका एसकेएम उम्मेदवार सञ्जीत खरेल पनि उपस्थित थिए।

एसकेएम पार्टीकी प्रचार-प्रसार सचिव रञ्जना प्रधानले एक प्रेसविज्ञप्ति जारी गरी जानकारी गराएअनुसार आज पर्बिङमा सम्पन्न सभाको अवसरमा पर्बिङ जीपीयूबाट शेर्पा एसोसिएशनको अगुवाईमा 120, छुबा वार्डबाट 22, कटेङ जीपीयूबाट 28  गरी कुल 170 परिवारले एसडीएफ पार्टीलाई त्यागेर एसकेएम पार्टीमा सामेल भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here