शोषक-वैरीहरूले मेरो ‘गुडनेस’ मात्र देखेको छ, अब नयाँ अवतार देख्नेछ : चामलिङ

0
1856
राभाङ्लामा चुनावी सभालाई सम्बोधन गर्दै पवन चामलिङ।

राभाङ्ला,5 अप्रेलः “सिक्किमका शोषक-वैरीहरूले मेरो ‘गुडनेस’ मात्र देखेका छन्। अब नयाँ अवतार देख्नेछन्। शोषकहरूले आउने सरकारमा मलाई नयाँ रूपमा देख्नेछ। हामी गरीबविरोधीहरूलाई सखाप पार्नेछौं”,एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले शुक्रबार राभाङ्लामा भने।

चुनाउ प्रचार ‘विजय सङ्कल्प र्‍याली’-को सातौं दिन आज चामलिङले राभाङ्लामा बर्फुङ, तिमी-नाम्फिङ र राङगाङ-याङगाङ समष्टिका जनतालाई सम्बोधन गरे। स्वर ख्याप्प बसेका चामलिङले आफ्नो भाषणको शुरुआत निकै भास्सिएको आवाजबाट गरे।

तर आज नै उनी सधैंभन्दा भिन्न र आक्रामक शैलीमा प्रस्तुत भए। उनको निशानामा राज्यको प्रमुख प्रतिपक्षी दल एसकेएम थियो।

“सिक्किममा जनतालाई हेप्ने, लुट्नेहरू एसकेएम भएर घुम्दैछ, जातपातको कुरा गर्दैछ। राजनीतिको नाममा ढुङ्गा हान्ने, गाड़ी तोड़फोड़ गर्ने, घर तोड्नेहरूलाई जनताले चुनाउमा धूलिसात गर्नुपर्छ। हामीसँग बेसी जोरी नखोज्नु। एसडीएफका युवाहरूलाई कुट्नु भनेको बछ्यूको गोलामा हात हाल्नु हो। एसकेएमले गुण्डागर्दी बन्द गरेन भने एसडीएफले अब सहेर बस्दैन। हाम्रा एकजना कार्यकर्ता तारछिरिङ लेप्चालाई अपहरण गरेर कुटेको छ। अहिले उनी सिलगढ़ीमा उपचार गरिरहेका छन्। हामी जाइलागेका छैनौं। तर, अब आइलाग्नेसँग पनि हात बाँधेर बस्दैनौं। हाम्रा युवाहरू तयार छन्। जनता नडराउनु। तपाईंहरूका साथमा एउटा मजबुत पार्टी छ, एउटा मजबुत नेता छ। पवन चामलिङ नयाँ युवाको अवतार लिएर आएको छ”, विपक्षी पार्टी एसकेएमले एसडीएफ कार्यकर्ताहरूमाथि आक्रमण र गाड़ीहरू तोड़फोड़ गरिरहेको आरोप लगाउँदै चामलिङले आक्रोशपूर्ण भाषामा भने।

निकै रोषपूर्ण भाषामा चामलिङले भने,“यस्ता जनता र गरीब हेप्नेहरूको इतिहास कहिल्यै नउठ्नेगरी मेटाइदिने म र एसडीएफ पार्टीसँग शक्ति छ।” एसकेएमले आरटीआई गरेर समेत धन असुली गरिरहेको उनले आरोप लगाए।

“आफ्नै परिवार  र जिन्दगी राम्रोसँग चलाउन नसक्नेहरू अहिले राज्य चलाउँछु भनेर घुम्दैछन्। यति सस्तो र सजिलो छ राजनीति गर्नु? जनविरोधीहरू पनि भोटमा उठ्न पाउनु प्रजातन्त्रको ठूलो विडम्बना हो”, चामलिङले भने।

एसकेएम अध्यक्ष पीएस गोलेमाथि पनि उनी निकै खनिए। शिक्षक गरिरहेका गोलेलाई आफैले तामाङ समुदायको प्रतिनिधित्व गराउँदै टिकट दिएर नेता, विधायक र मन्त्री बनाएको तर उनी अहिले ‘खेर गएको’ चामलिङले आरोप लगाए। गोलेले 2024 को चुनाउ पनि लड्न नपाउने दाबी गर्दै चामलिङले एसकेएमलाई  ‘मुख्यमन्त्रीको उम्मेदवार, नेता कोही नभएको पार्टी’ बताए।

“रानोबिनाको मौरीजस्तो त्यो पार्टी चुनाउपछि आफै टोकाटोक गरेर मर्छ। त्यो पार्टीले अहिले गुण्डागर्दीको जुन खेल खेल्दैछ, अब हामी सहनेछैनौं। एसडीएफलाई कमजोर नसम्झनु। जनतालाई हेप्ने शक्तिले आउने सरकारमा सजाय पाउनेछ”, उनले भने।

राभाङ्लामा व्यापारी समुदायलाई पनि सम्बोधन गर्दै चामलिङले भने, “हामीले व्यापारीहरूलाई पनि समान अवसर दिएका छौं। सरकारको आड़मा हाम्रा युवा-चेलीहरूले व्यापारीहरूबाट चन्दा मागेको छैन। धम्की दिएको छैन। राज्यमा शान्ति छ र नै उनीहरूले राम्रोसँग व्यापार-धन्धा गर्न पाएका छन्। यो शान्तिको रक्षा गर्ने जिम्मेवारी सबैको हो।”

गरीबहरूका कल्याण र सुरक्षाका लागि आगामी सरकारले अनेकौं परिकल्पनाहरू ल्याएको उल्लेख गर्दै उनले एमआरमा काम गर्नेहरूको दैनिक रोज 500 रुपियाँ गरिने बताए। आफ्नो पैतृक गाउँ राङगाङ-याङगाङका जनतासमक्ष उनले एसडीएफ सरकारका महत्त्वपूर्ण कामहरूको पनि स्मरण गराए। याङगाङमा केन्द्रिय विश्वविद्यालय, भाले ढुङ्गामा स्काइवाक जस्ता शैक्षिक एवं पर्यटकीय पूर्वाधारले क्षेत्रका जनतालाई हजार-हजार जुनीसम्म अवसरहरूको सिर्जना गर्ने उनले उल्लेख गरे।

यसैगरी, राभाङ्ला क्षेत्रमा राज्य सरकारले गरेका धार्मिक पर्यटनको विकासलाई चामलिङले विशेष रेखाङ्कित गरे। “हामीले आगामी सरकारका लागि अनेकौं योजनाहरू बनाएका छौं। ठूल्ठूला विकासमुखी परियोजनाहरूको निर्माण पूरा गर्न पनि जनताले एसडीएफलाई पुनः सत्तामा ल्याउनुपर्छ”, चामलिङले भने।

समष्टिका जनताले राखेका सबै माग आगामी सरकारमा 100 दिनभित्रमा पूरा गर्ने राज्यका मतदाता तथा पार्टी समर्थकहरूलाई चामलिङले आश्वासन दिए।

एसडीएफका लोकसभा उम्मेदवार डीबी कटुवालले ‘जनताको शक्तिले सत्यलाई थामेर राख्ने’ मन्तव्य गरे। “चुनाउको बेला जनतालाई ललीपप देखाउने अन्य पार्टीजस्तो होइन एसडीएफ। अरूका घोषणा-पत्र हेर्नुहोस् त-घोसला-पत्र जस्तो छ। एसडीएफले अहिलेसम्म जे वचन दिएको छ, त्यो पूरा गरेको छ”, कटुवालले भने। लोकसभाका 11 उम्मेदवारहरूमा आफूसँग कसैको प्रतिस्पर्धा नभएको पनि उनले दाबी गरे अनि भने,“उनीहरू 10 जनाबीच नै दोस्रो, तेस्रो, चौथो हुनेहरूको होड़ छ।”

कार्यक्रममा बर्फुङका निवर्तमान विधायक तथा मन्त्री डीडी भोटियाले पनि आफ्ना विचार राखे र आफ्नो उम्मेद्वारिता विषयलाई लिएर अहिलेसम्म रहेका सबै आशङ्का र अनुमानहरू हटाउने प्रयास गरे। सबै हल्ला र अफवाहहरूलाई उनले निराधार बताउँदै पार्टीप्रतिको आफ्नो प्रतिबद्धता कम नभएको तर स्वास्थ्यको कारण पहिलाजस्तो काम गर्न नसकेको स्पष्ट पारे।

जनसभामा राङगाङ-याङगाङकी एसडीएफ उम्मेदवार राजकुमारी थापा, बर्फुङका उम्मेदवार टाशी थेण्डुप भोटिया र तिमी-नाम्फिङका उम्मेदवार जीएम गुरुङको पनि उपस्थिति रहेको थियो। एसडीएफका वरिष्ठ नेता केएन राईले पनि मुख्यमन्त्रीसँग मञ्च साझा गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here