दार्जीलिङ, ५ अप्रेलः ५० प्रतिशत श्रमिकसहित चियाकमान खुल्ला राख्ने केन्द्र सरकारको निर्देशको गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले तीखो शब्दमा आपत्ति जनाएका छन्।
एकातिर लकडाउनमार्फत देशका नागरिक र देशभित्र रहेका अन्य देशका नागरिकहरूका लागि बचाउनका लागि लकडाउन घोषणा गरिएको तर अर्कोतिर जारी लकडाउनअवधि नै चियाउद्योगलाई खुल्ला राख्ने निर्देश जारी गरी दोहोरो नीति केन्द्रले दोहोरो नीति अपनाएको विनयको आरोप छ।
‘के चियाकमानका श्रमिक सन्तानहरू मानिस होइनन्? के उनीहरूको प्राणको कुनै मूल्य छैन?’, उनले आइतवार एक विज्ञप्ति जारी गरी थप भनेका छन्, ‘गोर्खा जनमुक्ति मोर्चा पार्टी भारत सरकारको यसप्रकारको दोहोरो नीति घोर प्रतिवाद गर्दछ।’
यसका साथै यदि ५० प्रतिशत श्रमिकहरू लिएर कमान खोल्न चाहेको खण्डमा श्रमिकहरूको सुरक्षाका लागि सम्पूर्ण मानवीय मापदण्ड अपनाएको हुनुपर्ने, लकडाउनबाट चियाकमानहरू खोल्न अघि भारत सरकारले राज्य सरकारसित परामर्श लिँदै राज्य सरकारका मुख्य सचिव अनि जिल्लापालमार्फत् चियाकमानका मालिकपक्षलाई मापदण्डबारे कडा निर्देश लिखित रूपमा दिनुपर्ने, सम्पूर्ण चियाकमानलाई स्वच्छ बनाउनुपर्ने, श्रमिकहरूले काम गर्दा सामाजिक दूरीको प्रावधान राखिनुपर्ने, चियाकमानमा पर्याप्त मात्रामा श्रमिकहरूका लागि मास्क, ग्लोभ्स, सेनिटाइजरको व्यवस्था गरिनुपर्ने माग गरेका छन्।
यसैगरी तामाङले चियाकमानका डिस्पेन्सरी बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुला राखिनुपर्ने, आपत्कालीन सेवाका लागि प्रत्येक चियाकमानमा एम्बुलेन्सको राखिनुपर्ने, यस सङ्कटकालीन समयमा श्रमिकहरूले काम गरेबापत उनीहरूको वर्तमान दैनिक रोज दोब्बर गरिनुपर्ने, यदि श्रमिकलाई कामअवधि कोभिड-१९ सङ्क्रमित पाइएको खण्डमा ती श्रमिकको सम्पूर्ण मेडिकल खर्च र व्यवस्था मालिकपक्षले बेहोर्नुपर्ने तथा यस्तो सङ्कटकालीन समयमा श्रमिकहरूले काम गर्दा कुनै श्रमिक कोभिड-१९ को कारण मृत्यु भएमा केन्द्र सरकार, टी बोर्ड अव् इन्डिया र मालिकपक्षले कम्तीमा १० लाखको मृत्यु बिमा गरिएको हुनुपर्ने थप माग गरेका छन्।
यसका साथै यी मागहरू उल्लिखित तीनैपक्षले लिखित र व्यावहारिक रूपमा लागू गरिनुपर्ने उनले थप माग गरेका छन्।
विनयका अनुसार यदि भारत सरकार, टी बोर्ड अव् इन्डिया र मालिकपक्षले यी मागहरू पूर्ण गरेमा चियाकमान खुल्ला राख्नेबारे गोजमुमो (दोस्रो खेमा)-ले पुनर्विचार गर्नेछ।
अर्कोतिर स्वास्थ्य र जीवनभन्दा ठूलो अरू केही नभएकाले श्रमिकहरूले पनि यसबारे बुझ्नुपर्ने विनयको अनुरोध छ।
‘श्रमिकहरूका हित र जनसाधारण जनताका जीवन र मरणअघि गोर्खा जनमुक्ति मोर्चाले कुनै पनि सम्झौता गर्नेछैन’, तामाङले भनेका छन्।