सिलगढ़ी, ५ अप्रेलः कोरोना भाइरसको कारण उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा थप एकजनाको मृत्यु भएको छ। यद्यपि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालले भने यसबारे आधिकारिक बयान जारी गरेको छैन।
आइतवार बिहान सिलगढ़ी जङ्क्शन न्यु कलोनीनिवासी व्यक्तिको मृत्यु भएको हो। उनी रेलवे कर्मचारी थिए।
रेलवेले पनि यी व्यक्तिको कोभिड-१९ –को कारण मृत्यु भएको पुष्टि गरेको छ। आज उनको मृत्यु भएसँगै कोरोना भाइरसको कारण उत्तर बङ्गालमा मर्नेहरूको सङ्ख्या दुई पुगेको छ।
जानकारीका अनुसार यी रेलवे कर्मचारीलाई ज्वरो खोकीले सताएपछि रेलवे अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई उत्तर बङ्गाल मेडिकल कलेजमा पछिल्लो २६ मार्चका दिन भर्ना गरिएको थियो।
आज मृतकका आफन्तलाई पनि क्वारेन्टाइनमा लगिएको छ। अर्कोतिर रेलवेले उनको मृत्युबारे जरूरी सूचना जारी गरी ड्युटीअवधि उनको सम्पर्कमा आएका कर्मचारीहरू र रेलवे कलोनीका अन्यहरूलाई पनि क्वारेन्टाइनमा पठाउने बताइएको छ।