जापको घोषणा-पत्रमा सात विशेष मुद्दा, गाउँबस्ती-वनबस्ती, चियाकमान र शहरी क्षेत्रका विभिन्न मुद्दाहरूको उठान

0
1067
शनिबार प्रेसगिल्डमा चुनावी घोषणा-पत्र जारी गरिँदै।

दार्जीलिङ, ५ मई : शनिबार जनआन्दोलन पार्टी (जाप)-ले आफ्नो घोषणा-पत्र जारी गऱ्यो। स्थानीय प्रेस गिल्डमा एक पत्रकार सम्मेलन आयोजन गरी जापले आगामी उपचुनाउका लागि आफ्नो घोषणा-पत्र सार्वजनिक गरेको हो।

घोषणा-पत्र सार्जजनीकरणको अवसरमा जाप उम्मेदवार अमर लामा, ब्युरो सदस्य अनमोल प्रसाद, महासचिव नयन प्रधान, नारी एकाइ प्रमुख प्रतिभा कुमाइ र युवा एकाइका नेता विशाल राई विशेष रूपले उपस्थित थिए।

घोषणा-पत्रमा जापले सात विशेष मुद्दालाई प्रमुखतासँग समावेश गरेको छ, जसमा छुट्टै राज्य गोर्खाल्याण्ड, नेपाली भाषाको प्रचार प्रसार र प्रवर्द्धन, अस्थायी कर्मचारीहरूको स्थायीकरण, ल अनि मेडिकल कलेजको स्थापना, हाटबजारको स्थापना र प्रवर्द्धन, बिजनबारी जनताको प्रशासनिक सुविधाका लागि पहल र छाता कम्पनीको पुनर्स्थापना आदि रहेका छन्। यसबाहेक गाउँबस्ती-वनबस्ती, चियाकमान र शहरी क्षेत्रका विभिन्न समस्यालाई पनि उठाइएको छ।

जापले विशेषगरी जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ, वनाधिकार अधिनियम-२००६ को लागू, दार्जीलिङ शहरी क्षेत्रमा रेगुलेटेड मार्केटको स्थापना, दार्जीलिङमा टी म्यानेजमेन्ट इन्स्टिट्युटको स्थापना, लघु एवं घरेलु उद्योगको विकास र प्रवर्द्धन तथा नगदे बालीहरूको लागि निम्नतम समर्थन मूल्य (मिनिमम् सपोर्ट प्राइस) आदिलाई पनि उठाउँदै यी मुद्दाहरूक कार्यान्वयनमा प्रतिबद्धता जताएको छ।

पत्रकार सम्मेलनलाई महासचिव नयन प्रधान, ब्युरो सदस्य अनमोल प्रसाद र जाप उम्मेदवार अमर लामाले सम्बोधन गरे।

पत्रकारहरूलाई सम्बोधन गर्दै जापको घोषणा-पत्र जापकै मात्र पेवा नरहेर उम्मेदवार लामाले बताए। उनले भने, “हामी हाम्रा प्रतिद्वन्द्वीहरूलाई भन्छौं, तपाईंहरूले पनि यो घोषणा-पत्र पढ़्नुहोस्। विषयमाथि गहन विचार गर्नुहोस्। यसबाट तपाईंहरूले लिनुसक्नु केही विषय छ भने त्यो पनि लिनुहोस्। र केही कमी छ भने त्यो पनि भनिदिनुहोस्।’’

ब्युरो सदस्य अनमोलले दार्जीलिङ पहाड़को राजनीति आवेश र लोभ लालचको बीचमा परेर धुलोपिठो भइसकेकोले जनता एकदमै अन्योलमा रहेको बताए। ‘‘जनआन्दोलन पार्टीको राजनीति सायद आवेश र लोभमा डुब्नेहरूलाई पनि मनपर्दैन होला’’, उनले भने। प्रसादका अनुसार छुट्टै राज्यको सपना साकार गर्नका लागि तीनवटा खुट्टीमा पहाड़को राजनीति चल्नुपर्छ। उनका अनुसार तीन खुट्टी शान्ति, गणतन्त्र र स्वच्छता हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here