खरसाङ, ५ जूनः खरसाङमा कोरोना सङ्क्रमणका पाँच मामिला पुष्टि भएको छ।
हिजै खरसाङमा पाँचजना कोरोना सङ्क्रमित रहेको उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल सूत्रले बताए पनि प्रशासनिक पक्षबाट पुष्टि हुनसकेको थिएन।
तर, आज दार्जीलिङका जिल्लाशासक एस. पन्नमबालमले खरसाङ क्षेत्रमा पाँचजना कोरोना सङ्क्रमित भएको पुष्टि गरेका छन्।
कोरोना सङ्क्रमित पाइएकाहरूमा गौरी शङ्करनिवासी २८ वर्षीय युवक, गिद्देपहाड़निवासी ४९ वर्षीया महिला, सिटोङ मिडल मामरिङनिवासी ३१ वर्षीया महिला, महानदी घुम्तीनिवासी २२ वर्षीय युवक र स्प्रिङ साइटनिवासी १८ वर्षीय युवक छन्।
अर्कोतिर प्राप्त जानकारीका अनुसार गौरीशङ्करनिवासी युवक र गिद्देपहाड़निवासी महिला दिल्लीबाट फर्केका हुन्। अन्य तीनजनाको भने यात्रा वृतान्तबारे जानकारी पाइएको छैन।
यसैगरी, फाँसीदेवाबाट २, खोरीबारीबाट २ र प्रधाननगरबाट ३ जना कोरोना सङ्क्रमित पाइएको दार्जीलिङ जिल्लाशासकले पुष्टि गरेका छन्।
उल्लेखनीय छ, केही दिनयता खरसाङ महकुमा क्षेत्रमा कोरोना सङ्क्रमणको मामिला बढ़ेको छ।
हिजै मात्र खरसाङ महकुमा क्षेत्रमै पर्ने सोनादा पचेङ बजारनिवासी ५ जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। उनीहरू पाँचैजना एकै परिवारका हुन्।
यसका साथै खरसाङ महकुमा क्षेत्रमा कोरोना सङ्क्रमित कुल सङ्ख्या १४ पुगेको छ।
यसभन्दा अघि २९ मईका दिन सोनादा पचेङनिवासी दुइ र खरसाङ शहरीय क्षेत्रका दुइ गरी कुल चारजना कोरोना सङ्क्रमित पाइएको थियो।