नाम्ची, ५ जूनः नाम्चीमा ३०० बेड (पलङ)-युक्त जिल्ला अस्पताल बनिने भएको छ। आज राज्यका मुख्यमन्त्री पीएस गोलेले नाम्चीको सिङ्गीथाङ खेल मैदानमा ३०० बेडयुक्त अस्पतालको शिलान्यास गरेका हुन्।
उक्त अस्पताल ५६१.२६ करोड़को लागतमा करिब दुई वर्षको समयावधिभित्र निर्माण हुनेछ। यो अस्पतालले विशेषगरी दक्षिण र पश्चिम जिल्लाका जनतालाई लाभ हुने बताइएको छ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले अस्पताल निर्माण हुन गइरहेकोमा जनतालाई बधाई एवं शुभकामना दिए।
अर्कोतिर उनले नाम्चीको वर्तमान जिल्ला अस्पताल १९७५ -मा निर्माण भए तापनि एसडीएफ सरकारले आफ्नो २५ वर्षे कार्यकालमा यो अस्पताललाई बढ़ोत्तरी गर्ने कुनै कार्य नगरेको गोलेले आरोप लगाए।
यसैगरी, राजधानी गान्तोकको सोच्यागाङस्थित एसटीएनएम अस्पताल पनि उद्घाटन गरेर एसडीएफले राजनीतिक फाइदा मात्र उठाउन खोजेको मुख्यमन्त्रीले आरोप लगाए।
मुख्यमन्त्री गोलेले आज ५ जून पर्यावरण दिवस रहेकाले शुद्ध पर्यावरणको महत्त्व विषय प्रकाश पार्दै वन विभागलाई गाई-वस्तुले खाने घाँसका बिरुवाहरू रोप्ने निर्देशन दिएको बताए।
एसकेएम सरकारको उद्देश्य जनतालाई स्वास्थ्य सेवाको सुविधा राम्रो दिनु रहेको उल्लेख गर्दै उनले महामारीको समयमा पनि एसकेएम सरकारले जनताका लागि राम्रो काम गरिरहेको दाबी गरे।
निर्माण हुन गइरहेको अस्पताललाई भवनको रूपमा मात्र निर्माण नगरेर विशेषज्ञ डाक्टरहरू पनि ल्याउने सरकारको प्राथमिकता रहेको साथै डाक्टर र नर्सहरूको क्वार्टर आदि पनि भविष्यमा निर्माण गर्ने अवगत गराए।
एसकेएम सरकारले पूर्वाधार विकासका कामहरूसॅंगै पर्यावरणको संरक्षणको विषयमा पनि ध्यान दिइरहेको बताउँदै जनता र सरकारी कर्मचारीको योगदानले गर्दा सिक्किम देशमा दीर्घम्यादी विकासको क्षेत्रमा देशमै चौथौ स्थानमा रहेको मुख्यमन्त्रीले थपे।
उनले कोरोना भाइरस विषय सचेतना गराउँदै सरकारले कोविड महामारीको समयमा पनि जनताको हितका लागि राम्रो काम गरिरहेको दावी गरे।
यस अवसरमा स्वास्थ्य मन्त्री डा. एमके शर्मा, मन्त्री सञ्जीत खरेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, जिल्लापाल एम. भरनी कुमार, स्वास्थ्य विभागका अधिकारीहरू, नाम्ची नगर परिषदका पार्षदगण आदि उपस्थित थिए।