गोर्खा लीगका विभाजित दुई खेमा मिले, एक महिनाभित्र केन्द्रिय कमिटी गठन गरिने

1
1425

दार्जीलिङ, ५ जुलाई: तीन वर्षअघि दुई खेमाका विभक्त भएको अखिल भारतीय गोर्खा लीग फेरि एउटै बनेको छ।

एसके प्रधान नेतृत्वावधीन गोर्खालीग र भारती तामाङपन्थी गोर्खालीगले आ-आफ्नो पुरानो कमिटीलाई पूर्ण रूपले विघटन गरी आजदेखि एक हुने निर्णय लिएका छन्।

यसै विषय लिएर आज एसके प्रधानपन्थी र भारती तामाङपन्थी गोर्खालीगको एक संयुक्त सभा भारती तामाङको निवासमा सम्पन्न भएको थियो, जसमा दुवै गुटले पार्टीको संविधानको धारा १०-को आधारमा पार्टीका दुवै पुरानो कमिटीलाई विघटन गरी एक महिनाभित्र केन्द्रिय समितिको गठन गर्ने घोषणा गरे। यद्यपि, केन्द्रिय समितिको गठन नभएसम्म भारती तामाङ र एसके प्रधानलाई पार्टीमा संयोजक बनाइएको पनि घोषणा गरिएको छ।

यस बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा लीगका नवमनोनित संयोजक एसके प्रधानले भने, “भारत स्वतन्त्र हुनभन्दा ४ वर्षअघि अर्थात् १९४३ स्थापना भएको गोर्खा लीग पार्टीलाई २०१७-देखि शनि ग्रह लागे जस्तो भएको थियो। कसैले कहिले पनि औंली पनि उठाउन नसकेको गोर्खा लीग पार्टीलाई २०१७-देखि दुई भागमा विभाजन गर्ने षड़यन्त्र गरिएको थियो अनि पार्टी दुइ भाग पनि भएको थियो। जसले जनतामा नकारात्मक सन्देश गएको थियो।’’

यी सम्पूर्ण विषयलाई ध्यानमा राखेर नै भारती तामाङ र लक्ष्मण प्रधानहरूसित सर-सल्लाह गरी फेरि यस पार्टीलाई एकताको सूत्रमा बाँध्ने कार्य भएको उनले बताए।

“2017-मा मलाई तीन वर्षका लागि पार्टीका अध्यक्ष पदमा नियुक्त गरिएको थियो अनि यो म्याद पूर्ण भएपछि पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी बनाउनेबारे चर्चा गरिएको थियो। तर गत १४ फरवरी र १५ मार्चका दिन भएका बैठकहरूमा पनि यसबारे कुनै ठोस निर्णय हुनसकेन’’, प्रधानले थपे, “यति मात्रै होइन, पार्टी दुई भागमा विभाजन भएका कारण जनता तथा गोर्खा लीगकै कार्यकर्ताहरू पनि अन्योल बनिरहेका थिए, उनीहरूले आफूहरू कतापट्टिका समर्थक हुन् भन्ने कुरा पनि बुझ्न सकिरहेका थिएनन्। यसैले पनि पार्टी एक हुन आवश्यक रहेको थियो।’’

उनले थप भने, “यी सम्पूर्ण विषयलाई ध्यानमा राखेर नै मैले भिट्टो पावर प्रयोग गरी गोर्खा लीग पार्टीको पुरानो कमिटी विघटन गरेको हो, जसमा पार्टीको संविधानलाई पनि विशेष आधार बनाइएको छ। ताकि भोलि कसैले पनि यस पहलमाथि भाँजो हाल्न नसकोस्।’’

यसरी नै भारती तामाङले पनि पत्रकारहरूसित कुराकानी गर्दै आफ्नो नेतृत्वमा रहेको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गर्ने निर्णय लिइएको बताइन्।

उनले भनिन्, “गोर्खालीग गोर्खा जातिको हितमा गठन भएको पार्टी हो र गोर्खा जातिको हितको फुटेर होइन, जुटेर नै काम गर्नुपर्छ।’’

यद्यपि, यस बैठकमा प्रताप खातीको अनुपस्थितिबारे पार्टीका वरिष्ठ नेता लक्ष्मण प्रधानसित सोध्दा उनले प्रताप खातीबाहेक सबैजना पुरानै कमिटीमा सामेल भएको बताए।

अर्कोतिर, प्रताप खातीले एसके प्रधानबाहेक ओरिजिनल गोर्खालीगका सबै सदस्य आफूसितै रहेको दाबी गरेका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here