पेदोङ खण्ड आधिकारिक रूपमा सञ्चालनमा, जिल्लापालले गरिन् खण्ड कार्यालको उद्घाटन

0
1068

दार्जीलिङ, जुलाई कालेबुङ जिल्ला बनिएको ४ वर्षपछि पेदोङ खण्डको आधिकारिक रूपमा आजदेखि सञ्चालन शुरू भएको छ।

कालेबुङ जिल्ला भएपछि प्रथम शुरू भएको यस खण्डको नयाँ कार्यालयको पनि आज कालेबुङकी जिल्लापाल आर. विमलाले उद्घाटन गरिन्।

वर्तमान समयका लागि भाड़ाको भवनमा शुरू गरिएको यसै कार्यालयबाट खण्ड विकास अधिकारीले आफ्ना कार्यहरू अघि बढ़ाएर लानेछन् भने यस खण्डको आफ्नै नयाँ भवनको निर्माण कार्य केही समयपछि नै शुरू गरिने भएको पनि जिल्लापालले बताएकी छन्।

6 वटा ग्राम पञ्चायतलाई समेटेर गठन गरिएको यस नयाँ पेदोङ खण्डसँगै कालेबुङ जिल्लामा मोठ 4 वटा खण्ड भएका छन्।

2017-मा दार्जीलिङ जिल्लाको कालेबुङ महकुमालाई जिल्ला बनाएपछि हालसम्म कालेबुङ जिल्लामा केवल एउटा मात्रै महकुमा छ।

यससँगै कालेबुङ जिल्लामा हालसम्म 3 वटा मात्रै खण्ड विकास क्षेत्र थिए, तर आजदेखि नयाँ पेदोङ खण्डको पनि आधिकारिकरूपमा सञ्चालन शुरू भएपछि यस क्षेत्रका धेरै मानिसको समस्या समाधान गर्नमा धेरै सुविधा पुग्ने स्थानीय मानिसहरूले आशा व्यक्त गरेका छन्।

यद्यपि जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को 38 नम्बर समष्टिमा पर्ने कागे, लिङ्से, लिङ्सेखा साथै यस वरिपरिका अधिकांश मानिसहरूलाई पेदोङको नयाँ खण्ड विकास कार्यालयबाट पुग्ने फाइदा अलगढ़ा खण्डबाट पुग्ने सुविधाभन्दा धेर नहुने पश्‍चिम बङ्गाल दमाई विकास बोर्डका अध्यक्ष गङ्गासागर पञ्चकोटीले बताएका छन्।

उनले भने, “अलगढ़ा र पेदोङको दुरी धेरै छैन। विगतमा कागे, लिङ्से, लिङ्सेखा आदि क्षेत्रका मानिसहरू खण्ड विकास कार्यालयका लागि अलगढ़ा आउन पर्थ्यो, अब अलगढ़ाकै छेउमा पर्ने पेदोङमा आउनुपर्ने भएको छ। यसबाट यी क्षेत्रका जनतालाई कुनै सुविधा हुनेछैन। यसैले पेदोङमा खण्ड विकास कार्यालय शुरू भएपछि अब लिङ्से, लिङ्सेखा वा कागेमध्ये एउटा ठाउँमा अर्को खण्ड विकास कार्यालय खोलिए यस क्षेत्रका मानिसहरूलाई सुविधा पुग्नेछ।”

यसै माग लिएर पञ्चकोटीले विकास बोर्डको तर्फबाट कालेबुङकी जिल्लापाल आर. विमला अनि विधायक रूदेन सादा लेप्चालाई एक ज्ञापन दिएको पनि बताएका छन्।

यसैबीच, आज पेदोङ ग्राम पञ्चायत कार्यालयको उद्घाटन गरिएपछि पत्रकारहरूसित कुराकानी गर्दै जिल्लापाल आर. विमलाले भनिन्, “पेदोङ खण्डमा लिङ्से, लिङ्सेखा, कागे, कास्योम, पेदोङ र साक्योङ ग्राम पञ्चायतलाई गाभिएको छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here