गोर्खालाई न्याय दिन गोर्खाल्यान्ड क्षेत्रलाई केन्द्रको अधीनमा राखिनुपर्छ : विमल

0
1832
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 5 अगस्त : जम्मू-कश्मीरबाट धारा 370 हटाउने केन्द्रमा सत्तासीन भाजपा सरकारले लिएको निर्णयलाई राष्ट्रिय सुरक्षा र अखण्डताका लागि आवश्यक कदम बताउँदै केन्द्र यो निर्णयलाई राष्ट्रिय हितमा गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा)-ले समर्थन जनाउने यसका अध्यक्ष विमल गुरुङले बताएका छन्।

सोमवार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले केन्द्रको निर्णयलाई समर्थन जनाएका हुन्। यसका साथै विमलले राष्ट्रवादी गोर्खाहरूलाई न्याय दिनका लागि प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रलाई पनि कश्मीरलाई झैं केन्द्रको अधीनस्थ राख्नुपर्ने अपील गरेका छन्। उनका अनुसार केन्द्रले यसो गरेको खण्डमा मात्र गोर्खाहरूले पनि आज कश्मीरका जनताले झैं स्वतन्त्रता अनुभव गर्नसक्नेछन्।

‘हामी केन्द्र सरकारलाई अपील गर्न चाहन्छौं, कश्मीरको जस्तै स्थिति आज पश्चिम बङ्गालको भइरहेको छ। हामी राष्ट्रवादी गोर्खाहरू यस्तो अवस्थाले चिन्तित छौं। बङ्ग्लादेशबाट आज बङ्गालमा भइरहेको अनुप्रवेशले भविष्यमा भारतभित्र अर्को कश्मीर जन्माउन सक्छ भन्ने कुरामा हामी चिन्तित छौं’, गुरुङले भनेका छन्।

यसै प्रसङ्गमा उनले बङ्गालमा चाँड़ोभन्दा चाँड़ो राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) लागू गरी देशको सुरक्षाको दिशामा कदम उठाउनुपर्ने माग पनि गरेका छन्।

अर्कोतिर, दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सबै गोर्खाल्यान्ड समर्थक राजनीतिक दललाई परस्परको मतभेद त्यागेर एक भई आवाज उठाउने विमलको आग्रह छ। साथै यस विषयमा भारतका सबै प्रान्तमा बसेका गोर्खाहरूले केन्द्रको निर्णयलाई स्वागत गर्दै गोर्खाल्यान्डको सन्दर्भमा राष्ट्रिय एकता कायम गरिदिने अपीलसमेत उनले गरेका छन्।

‘अहिलेको घड़ीमा हामी समस्त गोर्खा एक भएको खण्डमा केन्द्रले अवश्यै हाम्रो पक्षमा निर्णय लिनेछ। अनि हामीलाई बङ्गालबाट अलग गरेर हाम्रो देशप्रेमको कदर गर्नेछ। हामीलाई राजनीतिक न्याय दिनेछ’, विमलले भनेका छन्।

उनले गोर्खा जातिको राष्ट्रिय एकता र पार्टीगत एकताको खाँचो महसुस गरेको कुरा विज्ञप्तिमा बताएका छन्।

गुरुङले थप भनेका छन्, ‘लद्दाखलाई जम्मू-कश्मीरबाट अलग गरेर केन्द्र शासित प्रदेश र जम्मू-कश्मीरलाई विधानसभायुक्त केन्द्र शासित प्रदेश बनाएकोमा गोर्खा जनमुक्ति मोर्चाले यस कदमले कश्मीरका जनताले साँचो प्रजातन्त्र पाएको ठहर गरेको छ। भारतीय जनता पार्टीको यो कदम राष्ट्रिय सुरक्षाका लागि विशेष रहेको हामी मान्दछौं। यसले कश्मीरमा पाकिस्तानी अनुप्रवेशलाई पूर्णत: रोक्न सक्षम हुनेछ।’

यसैगरी उनले कश्मीरको सन्दर्भमा लिएको निर्णयका लागि गोर्खा जनमुक्ति मोर्चा र समग्र भारतीय गोर्खाको पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई बधाई टक्राएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here