केन्द्रलाई बिष्टको अनुरोध-“जनजातिको दर्जा दिने प्रक्रिया चाँड़ो पूरा गरियोस्”

0
1069

दार्जीलिङ, ५ अगस्तः गोर्खा जातिका ११ जातगोष्ठीलाई अनुसूचित जनजातिको दर्जा दिने प्रक्रियालाई जतिसक्दो चाँड़ो पूरा गरिनुपर्ने अनुरोध दार्जीलिङका सांसद राजु बिष्टले केन्द्र सरकारसमक्ष गरेका छन्।

आज उनले संसदको नियम ३७७ अन्तर्गत जनजाति मान्यताको मुद्दालाई उठाएका थिए।

यसबारे जानकारी गराउँदै बिष्टले एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘मैले केन्द्र सरकारसमक्ष गोर्खाहरूलाई थप अबेर नगरी अनुसूचित जनजातिको दर्जा दिने तीव्र गर्ने अनुरोध गरेँ। संसदको नियम ३७७ अन्तर्गत यो मुद्दा उठाउँदै मैले गोर्खा समुदायका देशभक्ति र वीरता कसैबाट नलुकेको तर उनीहरूका सङ्घर्ष भने ओझेलमा परेको र उनीहरू वञ्चित रहेका कुरा संसदसमक्ष राखेँ। मैले संसदलाई सूचित गरेँ, भारत स्वतन्त्र भएको बेलासम्म गोर्खा समुदायलाई एकमुष्ठ रूपमा ‘हिल ट्राइब्स’-को रूपमा मान्यता प्राप्त थियो। तर स्वतन्त्रता प्राप्तिपछि गोर्खा समुदायको हिल ट्राइब्सको मान्यता उनीहरूसँग कुनै प्रकारको परामर्श नगरीकनै खोसियो।’

यसैगरी उनले गोर्खा जातिका ११ जातगोष्ठी गोर्खा जातगोष्ठी आफ्नो पहिचानलाई मान्यता दिलाउन अहिले सङ्घर्षरत रहेका र यी जातगोष्ठीहरू सामाजिक रूपले एकातिर पन्छिएका तथा पाउनुपर्ने अधिकारहरूबाट वञ्चित रहँदै आएका पनि बताएका छन्।

यति मात्र होइन, जनवरी २०२१ मा सिक्किम विधानसभा र २०१४-मा पश्चिम बङ्गाल विधानसभाले यी छुटेका ११ गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिको दर्जा प्रदान गर्ने पक्षमा एउटा प्रस्ताव पारित गरी पठाइसकेका तर यस प्रक्रियामा अहिले असामान्य रूपमा ढिल्याइँ भएको तथ्य पनि आफूले संसदसमक्ष राखेको विज्ञप्तिमा बिष्टले जानकारी गराएका छन्।

यी दार्जीलिङका सांसदका अनुसार गोर्खा समुदायले धेरै लामो समयदेखि धैर्यपूर्वक न्यायका लागि प्रतीक्षा गरिरहेको र छुटेका ११ जातगोष्ठीलाई अनुसूचित जनजातिको दर्जा अविलम्ब पुनः दिइहाल्नुपर्ने समय आएको उनले संसदलाई जानकारी गराए। यसो गरी गोर्खा समुदायसँग भएको ऐतिहासिक गल्ती सुधार्नमा मद्दत मात्र नमिलेर उनीहरूले आफ्नो विशिष्ट सांस्कृतिक एवं पारम्परिक विरासतलाई संरक्षित गर्दै लान सक्ने तथा यसबाट गोर्खा जातिलाई संवैधानिक संरक्षण प्राप्त हुने बिष्टले बताए। 

‘छुटेका ११ गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिको दर्जा प्रदान गर्नमा ढिल्याइँ भएको कुरा सत्य हो, तर मलाई विश्वास छ, भारत सरकारले यस प्रक्रियालाई छिट्टै पूरा गरी गोर्खा समुदायलाई चिरप्रतीक्षित न्याय दिलाउनेछ’, सांसद राजु बिष्टले विज्ञप्तिमा बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here