गोजमुमो महासचिव रोशन गिरी (फाइल फोटो)। |
दार्जीलिङ, 5 सेप्टेम्बर : विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –ले स्टेट युनिभर्सिटीको स्थापनालाई स्वागत जनाउँदै 2012 –मा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले स्टेट युनिभर्सिटी स्थापनाबारे दिएको वचन पूरा गरेको बताएको छ। बुधवार गोजमुमो महासचिव रोशन गिरीले एक प्रेस विज्ञप्ति जारी मङ्पूको जोगीघाटमा बनिने स्टेट युनिभर्सिटीलाई गोजमुमोले स्वागत जनाएको बताएका हुन्। दार्जीलिङ हिल युनिभर्सिटीको हिलमा निर्माण हुने यो स्टेट युनिभर्सिटीको आज चौरस्तामा आयोजित एक कार्यक्रमबाट मुख्यमन्त्री ममता ब्यानर्जीले शिलान्यास गरिन्।
विज्ञप्तिमा गिरीले लेखेका छन्, “सन् 2012 मा पार्टी अध्यक्ष विमल गुरुङको नेतृत्वमा कोलकाता गएको एक प्रतिनिधिले राखेको विश्वविद्यालयको मागलाई मुख्यमन्त्री ममता ब्यानर्जीले त्यतिबेलै स्वीकार गरेकी थिइन्। त्यसै कुरालाई अहिले व्यावहारिकतामा ल्याउन लागिएको कुरालाई हामी स्वागत जनाउँदछौं।’’
कोलकातामा माग राखिएपछि 3 अगस्त 2012 –मा जीटीएका प्रमुख विमल गुरुङ तथा अन्य निर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा राज्यकी मुख्यमन्त्रीले चौरस्ताबाट दार्जीलिङ जिल्लामा विश्वविद्यालय स्थापनाको घोषणा गरेको पनि गिरीले दाबी गरेका छन्। यो समारोहका साक्षीहरूमा भारत सरकारको तत्कालीन गृहमन्त्री सुशील कुमार सिन्दे, केन्द्रिय गृह सचिव आरके सिंह, पश्चिम बङ्गालका तत्कालीन राज्यपाल केआर नारायणन, राज्यका गृहसचिव बासुदेव ब्यानर्जीलगायत अन्य रहेको बताएका छन्। गिरीले राजनीति केवल विरोधकै लागि विरोध नभएकोले राम्रो कार्यका लागि स्टेट युनिभर्सिटीको स्थापनालाई गोजमुमोले स्वागत गरेको पनि बताएका छन्। यसका साथै विज्ञप्तिमा मङ्गलवार अपरान्ह कोलकाताको माजेरहाट पुल भत्किँदा मृत्यु भएकाहरूप्रति गहिरो शोक प्रकट गर्दै घाइते मानिसहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।