रिञ्चेनपोङमा एसकेएमको सभा, गोलेले भने– 24 वर्षदेखि एसडीएफले जनतालाई ढाँट्दैछ

0
1006
रिञ्चेनपोङमा सभालाई सम्बोधन गर्दै एसकेएम अध्यक्ष पीएस गोले। 

गान्तोक, 4 सेप्टेम्बर : सिक्किमको सत्तारूढ़ पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले पछिल्लो 24 वर्षदेखि जनतालाई केवल ढाँट्दै आएको आरोप प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) -का अध्यक्ष पीएस गोलेले लगाएका छन्। मङ्गलवार रिञ्चेनपोङ निर्वाचन क्षेत्रको सोल्दुङ-कामलिङ ग्राम पञ्चायत एकाइमा सम्पन्न एक सभालाई सम्बोधन गर्दै गोलेले यस्तो आरोप लगाएका हुन्। उनले भने, “एसडीएफ सरकारले 24 वर्षदेखि झूट बोल्दै आएको छ। अब यो सरकारसँग झूट बोल्नबाहेक अर्को कुनै मुद्दा छैन।’’ एसकेएम अध्यक्षले एसडीएफ सरकारले नगरेका कामहरू एसकेएमको सरकार गठन भएपछि पाँचै वर्षमा गरी जनतालाई न्याय दिने ठोकुवा पनि गरे। “मुख्यमन्त्री पवन चामलिङले सिक्किमेली जनताका लागि देखेको सपना कहिले विपनामा परिणत हुनसकेन’’, गोलेले थपे, “तर सिक्किमेली जनताले देखेका सपनाहरूलाई विपनामा परिणत गरी उनीहरूका सबै इच्छा पूरा गरिदिने हामीसँग पर्याप्त योजना छन्।’’ एसकेएम अध्यक्षले आफू जेलबाट निस्केको दिन नै कर्तव्यनिष्ठ भएर जनताको सेवा गर्ने कसम खाएको र जस्तै आपत विपतमा पनि जनतालाई साथ दिनबाट पछि नहट्ने दाबीसमेत गरे।
एसकेएमकी प्रचार प्रसार सचिव रञ्जना प्रधानले एक प्रेस विज्ञप्ति गरी सभामा कलुक निवासी अवकाशप्राप्त बीडीओ सोनाम पाल्जर भोटिया र वर्तमान निर्दलीय पञ्चायत सदस्य प्रेमकुमारी तामाङसहित 265 परिवारले सत्तारूढ़ एसडीएफ त्यागेर एसकेएममा सामेल भएको दाबी गरेकी छन्।
सभामा पार्टीका वरिष्ठ सल्लाहकार तारामान राई, पीटी लक्समलगायत अग्रिम पङ्क्तिका पदाधिकार, कार्यकर्ता र समष्टिका जनताहरू उपस्थित रहेको पनि प्रधानले थप बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here