दार्जिलिङ, ५ सेप्टेम्बरः अन्य दलहरूसँग मिलेर अघि बढ़्ने कुरालाई अजय एड्वर्डले नकारेका छन्।
“हामी जे गर्नेछौँ, आफ्नै खुट्टामा उभिएर गर्नेछौँ”, आज रोहिणीमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने।
विशेषगरी अनित थापाको खोल्न लागेका नयाँ पार्टीमा अजय एड्वर्ड पनि रहने हल्ला पहाड़मा धेरै दिनदेखि चलिरहेको छ।
यसैमाथि बोल्दै उनले कुनै अन्य दलसँग नमिल्ने बरू आफ्नै राजनीतिक दल बनाएर अघि बढ़्ने स्पष्ट पारेका हुन्।
यति मात्र होइन, गोरामुमोबाट राजीनामा दिएपछि आफू स्वतन्त्र भएको उनको भनाइ छ।
“ठिक एक महिनाअघि गोरामुमोको कर्मठ सदस्य हाम्रा अध्यक्ष मन घिसिङलाई शिर राखेर उनकै निर्देशमा हाम्रो जातिका लागि भनेर दिल्ली गएको थिएँ। आज एक महिनापछि साधारण व्यक्ति भएर फर्किरहेको छु। एकदमै हल्का लागिरहेको छु”, एड्वर्डले थपे,”आजसम्म मन घिसिङलाई मैले हाइकमान्ड/अध्यक्ष मान्थेँ। तर, आजदेखि उप्रान्त जनता मेरो हाइकमान्ड हो। जनताका लागि म काम गर्नेछु।”
उनले पार्टी खोल्नु साधारण कुरा नरहेको तर सटिक समयमा पार्टी गठनको निर्णय लिने पनि स्पष्ट पारे।
एक प्रश्नको उत्तरमा उनले भने, “मेरो मूल गोर्खाल्याण्ड नै हो। यो मुद्दा जनताको मुद्दा हो। चुपचाप दिल्ली जाने एक-दुईवटा पार्टीको मात्र यो मुद्दा होइन। यो दार्जिलिङ पहाड, तराई अनि डुवर्सको मुद्दा हो। मुद्दाका लागि गोर्खा एकता हुन आवश्यक छ। मुद्दाका लागि म काम गर्नेछु।”
यसअवसरमा उनले नीरज जिम्बामाथि कटाक्ष गरे। परोक्ष रूपमा उनले थपे, “किम जोङ उनजस्तो बोलेर हुँदैन।”
अर्कोतिर आफू दिल्ली जाँदा गोरामुमो अध्यक्ष मन घिसिङले षड्यन्त्र गरेको आरोप लगाउँदै अजय एड्वर्डले भने, “राजु बिष्टलाई जिताउने जनता हुन्। विधानसभा चुनाउमा जिताउने पनि जनता नै हुन्। तर चुपचाप सम्झौता गर्न दुई-चारजना जान पाउँदैनन्। यो जनताको मुद्दा हो। सबै पार्टी मिलेर जानु पर्छ।”
एड्वर्डका अनुसार सत्ताका लागि प्रतिस्पर्धामा भए पनि मुद्दाका लागि गोर्खा एकता अनिवार्य रहेको कुरामा जोड दिए। यसैबिच आजदेखि दार्जिलिङ पहाड़मा नयाँ राजनीतिक युग शुरू भएको दावी गर्दै कूटनीतिक ढङ्गमा अघि बढ़्ने र कूटनीति महत्त्वपूर्ण कुरा रहेको बताए।