दार्जीलिङको एक चियाकमानमा पत्ती टिप्दै श्रमिकहरू (फाइल फोटो)। |
गान्तोक, ५ अक्टोबर : यसपटक दार्जीलिङका चियाश्रमिकहरूले केवल १५ प्रतिशतले मात्र पूजा बोनस पाउनेछन्। यो दर तराई-डुवर्सका चियाश्रमिकहरूलाई दिइएको बोनसभन्दा ४.५० कम्ती हो। तराईं-डुवर्सका चियाकमानहरूलाई यसवर्ष १९.५० को दरले पूजा बोनस दिएको छ।
बिहीवार राति दार्जीलिङका लागि १५ प्रतिशत बोनस दिने निर्णय गरियो। मालिकपक्षले आनाकानी गर्दै राखेको १५ प्रतिशतलाई बोनस दरमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन दार्जीलिङ-तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले सहमति जताएपछि जोइन्ट फोरमका प्रतिनिधिहरू बैठकलाई वाक्आउट गर्दै उठेर हिँड़ेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –को श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-का अध्यक्ष जेबी तामाङले बताए।
उनी जोइन्ट फोरमको दार्जीलिङ सबकमिटीका संयोजक पनि हुन्।
उनका अनुसार गोजमुमोको श्रमिक सङ्गठनले मालिकवर्गको पक्ष लिएपछि यसपालि पहाड़का चियाश्रमिकले केवल १५ प्रतिशत बोनस पाउने भएको हो। “गोजमुमोको श्रमिक सङ्गठन मालिकवर्गसँग मिलेपछि यसपालि बोनस दर घट्यो’’, उनले थपे, “डीटीटीपीएलयू श्रमिकवर्गको सङ्गठन होइन, यो मालिक वर्गको सङ्गठन हो।’’
तामाङका अनुसार २० प्रतिशत बोनसको माग गरेजस्तो गरेर चियाश्रमिकहरूअघि साँचिलो बन्नखोज्ने डीटीडीपीएलयूले बैठकमा मालिकवर्गको पक्ष लिएपछि श्रमिकवर्गले नोक्सान बेहोर्न परेको हो।
“हामी (जोइन्ट फोरम) २० प्रतिशतको दरले बोनस दिनुपर्ने मागमा अडिग थियौं, तर डीटीडीपीएलयूले १५ प्रतिशतको बोनस दरमा सहमति जताएपछि हामीले बैठकलाई बहिष्कार गरेर बाहिरियौं’’, जेबी तामाङले भने, “हामीले बोनस सम्झौतामा हस्ताक्षर गरेका छैनौं। हामी श्रमिकहरूलाई अन्डर प्रोटेस्ट बोनस थाप्न भनेका छौं।’’
उनले दार्जीलिङदेखि बोनस बैठक कोलकाता सर्नुमा पनि डीटीपीएलयूकै षड़यन्त्र रहेको आरोप लगाएका छन्। “डीटीपीएलयूले श्रमिकहरूको हित सोच्दैन, उल्टै मालिकसँग मिलेर श्रमिकको शोषण गर्छ’’, एचपीडब्ल्यूयूका अध्यक्षले आरोप लगाए।