![]() |
| गोजमुमोका अध्यक्ष विनय तामाङ (फाइल फोटो)। |
गान्तोक, 5 अक्टोबर : शुक्रवार नर्थ ब्लकमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र केन्द्रिय गृहमन्त्रालयबीच हुने सचिवस्तरीय वार्ता गोर्खाल्यान्डको वन् पोइन्ट एजेन्डामा हुनुपर्ने माग विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का अध्यक्ष विनय तामाङले गरेका छन्।
आज 3 बजे हुने भनिएको सचिवस्तरीय वार्ताबारे प्रतिक्रिया व्यक्त गर्दै उनले यस्तो माग गरेका हुन्।
यसका साथै विमलपन्थी गोजमुमोको वार्ता टोलीले केन्द्रिय गृहमन्त्रालयका सचिवसँग गोर्खाल्यान्डको मुद्दामाथि वार्ता भयो भनेर झूट खबर फैलाएर चलाकी गर्नसक्ने तामाङले शङ्का गरेका छन्। बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी विनय तामाङले वार्ता केवल गोर्खाल्यान्डको मागमा हुनुपर्ने गरेका हुन्। उनले विज्ञप्तिमार्फत् यस्तो माग गर्दै गत वर्षको 29 अगस्तमा राज्य सरकारसँग भएको वार्तालाई लिएर विमल गुरुङले दिएको निर्देशलाई उल्लेख गर्दै यसप्रति स्मरण गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, “29 अगस्त 2017 मा जब हामी राज्य सरकारसँग बैठकमा बसेका थियौं, त्यसबेला विमल गुरुङले फरमान जारी गर्दै उक्त बैठकमा केवल गोर्खाल्यान्डबारे कुरा गर्नुपर्ने निर्देश दिएका थिए। हामीले उनको निर्देशलाई पालन गर्दै राज्य सरकारसँगको उक्त वार्तामा गोर्खाल्यान्डबारे कुरा उठाएका थियौं।”
तामाङले विज्ञप्तिमा नवान्न बसिएको उक्त बैठकमा आफूहरूले गोर्खाल्यान्डको कुरा उठाएको र गोर्खाहरूको दीर्घकालीन समस्या उठाएको यो नै पहिलोचोटि रहेको दाबी समेत गरेका छन्। उनका अनुसार उक्त बैठकमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आफैले गोर्खाल्यान्डको मुद्दा एक संवैधानिक मुद्दा रहेको स्वीकार गरेकी थिइन्। यद्यपि यो मागबारे राज्य सरकारको केही गर्न नसक्ने पनि मुख्यमन्त्रीले उक्त बैठकमा स्पष्ट पारेको विनय तामाङको भनाइ छ।
उनले विज्ञप्तिमा थप भनेका छन्, “अब कर्णल रमेश आलेलाई म बैठक भएको खण्डमा एकमात्र मुद्दा गोर्खाल्यान्डको मुद्दामा हुनुपर्छ भनी सोही प्रकारको अपील गर्न चाहन्छु, जुन 29 अगस्त 2017–को वार्तामा विमल गुरूङले राखेका थिए। माननीय एचएमओसित गोर्खाल्यान्डको विषयमा कुराकानी भयो भनेर पहाड़का सोझा जनतालाई झूटो खबर दिएर उनीहरूले चलाकी पनि गर्न सक्छन्। यसर्थ हामी बारम्बार दोहोऱ्याएर भन्न चाहन्छौं, वार्ता केवल एकसूत्री मुद्दा गोर्खाल्यान्डलाई लिएर हुनुपर्छ।”
उनले वार्ताबारे सोशल मीडियामा जानकारी दिने गोजमुमो महासचिव रोशन गिरीले बैठकमा गोर्खाल्यान्डको मुद्दा कतै उल्लेख नगरेको बताउँदै गिरीले भनेको बैठक गत 21 अगस्तको दिन रोशन गिरीले गृहसचिव र अन्य 6 जना अधिकारीलाई जनजातिको मुद्दाका लागि कुराकानी गर्न भेटवार्ताका लागि मागेको अनुमतिको आधारमा तय भएको त होइन भन्ने शङ्कामिश्रित प्रश्न पनि गरेका छन्।
साथै रोशन गिरीहरूले भनेको वार्ता पूर्ण रूपले जीटीए र जनजातिको मुद्दालाई लिएर हो भन्ने उनको दाबी छ।
विज्ञप्तिमा विनय तामाङले यो बैठकलाई लिएर शङ्का र प्रश्न पनि गरेका छन्। साथै उनले यो वार्तालाई एकातिर भाजपाले चुनावी स्टन्ट बनाइरहेको आरोप लगाएका छन् भने अर्कोतिर बैठक डाकिनुको श्रेय आफूले भर्खरै दिल्लीको भ्रमणसम्बन्धी दिएको बयानलाई दिएका छन्।
विज्ञप्तिमा विनय तामाङले बताएअनुसार द्विपक्षीय वार्ता वास्तवमा लामो समयदेखि थाँतीमा थियो, तर यसलाई भाजपाले अहिले आएर चुनावी स्टन्ट बनाइरहेको छ। भाजपाको यस्तो चिनावी स्टन्टलाई पहाड़का जनताले बुझिसकेका छन्।
“जनतालाई केही समयसम्म मूर्ख बनाउन सकिन्छ तर सधैँभरि मूर्ख बनाइरहन सकिन्न। रोशन गिरीहरू अनि भाजपाले अब जनतालाई मूर्ख बनाउन सक्दैन”, उनले भनेका छन्।



