एसपी शर्मामाथि हमला ! प्रताप खाती र मीना सुब्बाविरुद्ध प्राथमिकी दर्ता

0
976

दार्जिलिङ, ४ अक्टोबर: आफूमाथि धारिलो हतियारले हमला गरिएको भन्दै भारती तामाङ गुट गोर्खा लीगका महासचिव एसपी शर्माले प्रताप खाती र मीना सुब्बालगायत रोशन तामाङविरुद्ध हिजो (सोमबार) बेलुकी दार्जिलिङ सदर थानामा प्राथमिकी दर्ता गरेका छन्।

एसपी शर्माले जनसंवादलाई जानकारी गराएअनुसार हिजो बेलुकीपख पार्टी उपाध्यक्ष विक्रमादि राईसँग इभिनिङ वाकबाट फर्किरहेका समय टर्नबुल स्कूलछेउ दुई युवकले उनीमाथि धारिलो हतियारले हमला गरेका हुन्।

“हामी बिगबजारको बाटो भएर टर्नबुल स्कूल हुँदै रेलवे स्टेशनतर्फ गइरहेका थियौँ। टर्नबुल स्कूलदेखि केही मन्तिर अघिबाटै दुईजना युवकले हामी पर्खिरहेका रहेछन्। उनीहरूले हामीसँग बात गर्ने निहुँमा ममाथि सोझै हमला गरे”, शर्माले थपे, “हमलाबाट बच्ने कोशिश गर्दा पनि देब्रे पाखुरामा चोट लागेको छ। मलाई मार्ने उद्देश्यले मेरो घाँटी प्रहार गर्न खोजिएको थियो, तर मैले छलेका कारण देब्रे पाखुरामा लागेको हो।”

उनको आशङ्काका अनुसार यस हमला  प्रताप खाती गुट गोर्खा लीगको हात छ किनभने प्राथमिकीमा उल्लेख गरिएका रोशन तामाङले केही दिन अघिदेखि  उनीहरूलाई प्रताप खातीसँग मिल्नका लागि अनावश्यक दबाव र धम्की दिने कार्य गर्दै आएका थिए।

हमलाका समय पनि हमलाकारीहरूले प्रताप खाती र मीना सुब्बाको नाम लिएको र उनीहरूसँग मिल्न आफूहरूलाई जबर्जस्ती गरेको, नमिलेको खण्डमा परिणाम भोग्न तयार रहने धम्की दिएको पनि शर्माले बताएका छन्।

यस कुरालाई उनले प्राथमिकीमा उल्लेख पनि गरेका छन्।

“जुन ठाउँमा ममाथि हमला गरियो, त्यो ठाउँ अँध्यारो रहेकाले हमलाकारीलाई ठम्याउन सकिनँ। तर हमलाकारीमध्ये एकजनाको हुलिया रोशन तामाङसँग मिल्दोजुल्दो थियो”, एसपी शर्माले बताए।

’22 सेप्टेम्बरका बिहान करिब 11:30 बजे लाडेन ला रोडस्थित गोर्खा लीगको कार्यालयमा रोशन तामाङ आएर हामीलाई प्रताप खातीसँग मिल्न र राजनीतिक गतिविधि रोक्न जबर्जस्ती गरेका थिए’, प्राथमिकीमा उनले उल्लेख गरेका छन्।

उल्लेखनीय छ, पछिल्ला केही वर्षयता गोर्खा लीगमाथि अधिकारलाई लिएर भारती तामाङ गुट र प्रताप खाती गुटबिच किचलो चलिरहेको छ। यो किचलो अदालतमा समेत पुगिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here