आइतवार राति लागेको आगोले खरानी भएको प्रकाश गुप्ता र किशोर खालिङको घर। |
खरसाङ, 5 नोभेम्बर : घैयाबारीमा आतवार राति भएको अग्निकाण्डको चपेटमा परी दुईवटा घर जलेर खरानी भएका छन् भने अन्य दुई घर आधासरो जलेको छ। जलेर खरानी भएको एउटा घरमा ठूलो दोकान थियो। दोकाना राखेका सबै सामग्री जलेर स्वाहा भएका छन्। आगलागीको कारण सट् सर्किट बताइएको छ।
प्राप्त जानकारीका अनुसार यो घटना आइतवार राति लगभग 10 बजे भएको हो। यो अग्निकाण्डमा परी घैयाबारी रेलवे स्टेशनको ठीक विपरीतमा रहेका प्रकाश गुप्ता र किशोर खालिङको घर जलेर खरानी भएका छन् भने यी दुई घरको छेउमा रहेका प्रशान्त खालिङ र सुरज छेत्रीको घर पनि आधासरो जलेका छन्।
मनोज गुप्ताको घरमै ठूलो दोकान पनि थियो। उनले दोकानमा तिहारका लागि बिक्री गर्न सामग्री टम्म राखेका थिए, तर आगोले यी सबै सामग्री खरानी बनाएको छ। यी सामग्रीसँगै उनको एउटा मारुती भ्यान र स्कुटी पनि जलेका छन्। पीड़ित परिवारले नगद रुपियाँ, दुवै वाहन र अन्य सबै सरसमानलगायत लगभग कुल 50 लाख रुपियाँको क्षति बताएका छन्।
आगोको लपेटामा प्रकाश गुप्ता र किशोर खालिङको घर। |
त्यस्तै किशोर खालिङको लगभग 28-29 लाख रुपियाँको क्षति भएको बताइएको छ। पीड़ित किशोर खालिङको घर पनि पूर्ण रूपले जलेको छ। किशोर खालिङको घर छेउमा रहेको उनका भाइ प्रशन्त खालिङको घर 60 प्रतिशत र छेवैमा रहेको सुरज छेत्रीको घर 40 प्रतिशत जलेको छ। दुवैजनाको लाखौं रुपियाँको क्षति भएको छ। अर्कोतिर आफ्नो ज्यान जोगाउनका लागि भाग्दा प्रकाश गुप्ता, उनकी पत्नी सरोज गुप्ता, छोरा अभय गुप्ता र किशोर खालिङलाई चोट लागेको छ। अहिले प्रकाश गुप्ता, उनकी पत्नी सरोज गुप्ता र किशोर खालिङ खरसाङ अस्पतालमा उपचाराधीन छन् भने सामान्य चोट लागेका अभय गुप्तालाई प्राथमिक उपचारपछि छुट्टी दिइएको छ।
रातिको समय भएकोले पनि आगोले उग्र रूप लिएको हो। स्थानीय मानिसहरूले आगो निभाउन सक्दो कोशिश गरेपछि नै यो आगोले ठूलो रूप लिन नपाएको हो। आगो निभाउनका लागि खरसाङ अग्निशमन विभागका कर्मचारी र एउटा दमकल घटनास्थलमा पुगेको थियो। यद्यपि खरसाङ र घैयाबारीको दूरत्व धेरै भएकोले दमकल खरसाङबाट घैयाबारी पुग्दासम्म धेरै क्षति भइसकेको स्थानीय मानिसहरूको भनाइ छ।
जीटीएले दियो तीन पीड़ित परिवारलाई एक-एक लाख रुपियाँको सहयोग राशि प्रदान
यता, पीड़ित दुई परिवारले आफन्त र छिमेकीको घरमा शरण लिएका छन्। उनीहरूलाई घैयाबारी ग्राम पञ्चायतको तर्फबाट तत्काल राहतहेतु तारपोलिन, कम्बल र अन्य लुगाफाटाहरू प्रदान गरिएको छ।
अर्कोतिर सोमवार खरसाङका विधायक रोहित शर्मा र गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) –को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) उपाध्यक्ष अनित थापा घटनास्थलमा पुगी अग्निकाण्डमा भएको क्षयक्षतिको जानकारी लिएका थिए।
खरसाङ अस्पतालमा उपचाराधीन प्रकाश गुप्ताकी पत्नी सरोज गुप्ता। |
यसअवसरमा जीटीएको तर्फबाट तीन पीड़ित परिवारलाई एक-एक लाख रुपियाँ गरी राहत राशि प्रदान गरिएको छ भने विधायकले आफ्नो पक्षबाट पीड़ित परिवारलाई आवश्यकीय लुगाफाटा प्रदान गरिएका छन्। विधायक शर्माका अनुसार जीटीएको तर्फबाट प्रदान गरिएको सहयोग राशि आजै राहत समितिलाई सुम्पिएको छ। शर्माका अनुसार यो अग्निकाण्डमा तीनवटा घर जलेर खरानी भएका छन् भने एउटा घर आधा जलेको छ। त्यस्तै गोजमुमो घैयाबारी खण्ड समितिले आपत्कालीन सभा गरी दुई पीड़ित परिवारलाई तत्कालिक रूपमा 5-5 हजार सहयोग राशि प्रदान गरेको छ। साथै गोजमुमो घैयाबारी खण्ड समितिको तर्फबाट सभापति मणिकुमार छेत्री र राजु छेत्रीले यसपालि क्षेत्रमा तिहारको रमझम नगर्ने देउसी-भैलो नखेलिदिने तथा दक्षिण दिने पैसा सबै पीड़ित परिवारलाई दिएर सहयोग गरिदिने अपील गरेका छन्।