हात्तीले माऱ्यो वृद्धलाई, पानीघट्टा रेञ्ज अफिसमा विरोध-प्रदर्शन

0
1145
मङ्गलवार बिहानै हात्तीको आक्रमणमा परी मृत्यु भएका बुद्ध लोहार।

सिलगढ़ी, ५ नोभेम्बर: केही समययता हात्तीको आतङ्क सहिरहेका च्याँगा बस्तीका मानिसहरूले पानीघट्टा वन रेञ्ज अफिसअघि विरोध प्रदर्शन गरे। विरोध प्रदर्शनका लागि सयौंको सङ्ख्यामा मानिसहरू जुटेका थिए।

उल्लेखनीय छ, मिरिक खण्डअन्तर्गत् च्याँगा, कटहरे र निरपानी वन बस्तीमा केही दिनयता हात्तीको आतङ्क अत्यधिक बढ़ेको छ। जसको कारण स्थानीय मानिसहरू निर्धक्क हिँड़डुल गर्न सकिरहेका छैनन्।

अर्कोतिर, मङ्गलवार बिहान टुक्रिया वन बस्तीमा ७५ वर्षीय बुद्ध लोहारलाई हात्तीले मारेको छ। प्राप्त जानकारीका अनुसार उनी नक्सलबारी ब्लकअन्तर्गत् हात्तीघिसानजिक रहेको विजय नगर चियाकमाननिवासी थिए।

स्थानीय मानिसहरूले बताएअनुसार ती वृद्धलाई हात्तीले करिब आधा किलोमिटरसम्म खेदेर मारेको हो। यो घटनाले क्षेत्रमा हात्तीको आतङ्क थप बढ़ेको छ। साथै वन विभागले हात्तीलाई क्षेत्रबाट खेदाउन नसकेको तथा गाउँलेहरूलाई सुरक्षा दिन नसकेको गुनासो चुलिएको छ।

‘हाम्रो क्षेत्रमा हात्तीको आतङ्क अत्यधिक बढ़ेको छ। हात्तीकै आक्रमणको डरले मानिसहरू आफ्नो घरबाट बाहिर निस्कन सकिरहेका छैनन्’, च्याँगानिवासी बलदेव शाहले थपे, ‘दिउँसो पनि जङ्गली हात्ती चियाकमान र गाउँकै वरिपरि घुमिरहेको हुन्छ। हात्तीलाई जङ्गलतर्फ खेदाएर गाउँलेहरूलाई सुरक्षा दिन वन विभाग पूर्ण रूपले असफल बनेको छ।’

यसैगरी क्षेत्रवासीले सड़क, सड़कमा सोलर लाइट्स र जङ्गली जनावरहरूको गाउँभित्र प्रवेशलाई रोक्नका लागि समुचित पहल गरिनुपर्ने मागसमेत गरेका छन्। पानीघट्टा रेञ्ज अफिसमा भेला भएका गाउँलेहरूले वनविभागको विफलताविरुद्ध चर्को नारा लगाएका थिए भने गाउँलेहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने मागमा पानीघट्टा रेञ्जका रेञ्जरमार्फत डीएफओ खरसाङलाई एक ज्ञापन चढ़ाएका छन्।

विरोध प्रदर्शनकारी गाउँलेहरूले बताएअनुसार वन अधिकारीहरूले उनीहरूलाई समुचित सुरक्षा र आवश्यक कार्य गरिने आश्वासन दिएका छन्।

उल्लेखनीय छ, केही दिनअघि मात्र च्याँगा बस्तीमा जङ्गली हात्तीले एक वृद्धा शान्तिमाया गहतराजलाई मारेको थियो। उक्त समय उनी आफ्ना पति मणिकुमार गहतराजसँग मर्निङ वकबाट घर फर्किरहेका थिए। त्यसबेला उक्त जङ्गली हात्तीको आक्रमणमा परी मणिकुमार गहतराज पनि गम्भीर घाइते भएका थिए।

अर्कोतिर च्याँगानिवासी टीका शर्माले बताएअनुसार समयमा नै वन विभागले समुचित पहल नगरे जङ्गली हात्तीले क्षेत्रमा थप क्षति पुऱ्याउने निश्चित छ। यसैले गाउँलेहरूले वन विभागद्वारा यससम्बन्धमा यथाशीघ्र ठोस कार्य गरियोस् भन्ने चाहन्छन्। यससम्बन्धमा थप जानकारीका लागि पानीघट्टा रेञ्जका अधिकारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकिएन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here