दार्जीलिङ, 5 नोभेम्बरः जीटीएमा कार्य गर्ने कन्टिन्जेन्ट कर्मचारीहरू फेरि सङ्गठित हुनथालेका छन्, जसले आज दार्जीलिङमा एक पत्रकार सम्मेलनको आयोजन गरी विमल गुरूङको दार्जीलिङ पहाड़मा आगमन भएपछि आफ्नो समस्या समाधान हुने आशा गरेका छन्।
यसका साथै विमल गुरूङ स्वयंले उनीहरूलाई समस्या समाधान गरिदिने वचन दिएको पनि उनीहरूले बताएका छन्।
यसबारे पत्रकारहरूसित कुराकानी गर्दै कन्टिन्जेन्ट कर्मचारीहरूको पक्षमा ज्योत्सना राई, आनन्द छेत्री र रीना मुखिया राईले भने, “2017-को आन्दोलनपछि गोजमुमो अध्यक्ष विमल गुरूङजस्तो भूमिगत बन्न पऱ्यो, त्यस्तै जीटीएका विभिन्न विभागमा कार्य गर्ने 13 सयभन्दा अधिक कन्टिन्जेन्ट कर्मचारीहरूको सङ्कटको समय शुरू भएको हो।’’
यी कन्टिन्जेन्ट कर्मचारीहरूका अनुसार वर्तमान गोजमुमो दोस्रो खेमाका अध्यक्ष एवं जीटीएका पूर्व अध्यक्ष विनय तामाङले यी कर्मचारीहरूको समस्या समाधान गर्नुको सट्टा उनीहरूद्वारा गठित असुरक्षित कर्मचारी सङ्गठनलाई पनि विघटन गरी असुरक्षित कर्मचारी सङ्गठन गोजमुमोको भ्रातृ सङ्गठन नरहेको बताएका थिए।
त्यसैले यी कर्मचारीहरूले कन्टिन्जेन्ट मेनल नाम गरेर एक अर्को सङ्गठनको गठन गरेका थिए। जो त्यस समयदेखि हालसम्म नै विमल गुरूङको साथमा रहेको र विमल गुरूङलाई पहाड़मा स्वागत जनाउन तयार बनिरहेको पनि उऩीहरूको भनाइ छ।
उनीहरूले थप भने, “विमल गुरूङको कार्यकालमा जीटीए क्षेत्रमा 27 सयभन्दा अधिक कन्टिन्जेन्ट कर्मचारी थिए, तर उनीहरूको स्थायीकरण होइन, कामको पनि ग्यारेन्टी पनि नरहेका कारण आधासरो कर्मचारीहरूले आ-आफ्नो रोजगारको व्यवस्था गरे। कतिपय कर्मचारीहरू विदेशतिर लागे, जसको फलस्वरूप अझै पनि 1,369 जना कर्मचारीले सङ्कटको सामना गरिरहेका छन्।’’
विमल गुरूङ दार्जीलिङ पहाड़बाट भूमिगत बनेपछि जीटीएको कार्यभार विनय तामाङको हातमा आएको थियो, त्यसै समयदेखि कन्टिन्जेन्ट कर्मचारीहरूले मासिक वेतन पनि पाउन छोड़ेको थियो।
त्यसपछि उनीहरूले आफ्नो काम पुनः सुचारू बनोस् भनेर धेरैपल्ट प्रयास गरे, तर उनीहरूको प्रयास विफल बनेपछि उनीहरूले विनय तामाङपन्थी गोजमुमोको साथ छोड़ेका थिए।
जो आज पुनः हातमा विमल गुरूङको फोटो भएको झण्डा लिएर अघि आएका छन् अनि उनीहरूले विमल गुरूङको प्रतीक्षा गरिरहेका बताएका छन्।
आनन्द छेत्रीले भने, “त्यस समय विमल गुरूङले आफ्नो तर्फबाट यी कन्टिन्जेन्ट कर्मचारीहरूलाई मासिकरूपमा 4 हजारदेखि 12 हजार रूपियाँसम्म दिने गर्थे। तर, विमल गुरूङ भूमगत बनेपछि उनीहरूले पनि गतिलै सङ्कट झेलिरहेका छन्।’’