विधानसभा चुनाउमा भाजपालाई पाठ पढ़ाउनेछौँ: विमल गुरुङ

0
917

कोलकाता, 5 नोभेम्बरः आउँदो वर्ष हुने बङ्गाल विधानसभाको चुनाउमा नराम्रो गरी पराजय चखाएर भारतीय जनता पार्टीलाई गत्तिलो पाठ पढ़ाउने विमल गुरुङले बताएका छन्।

आज कोलकातामा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गुरुङका अनुसार भाजपाले गोर्खाहरूलाई दिएको दुइवटै वचन पूरा गरेन। केवल धोका दिने काम मात्र गऱ्यो।

“भाजपाले हामीलाई दुइवटा आश्वासन दिएको थियो, तर त्यो आजसम्म पूरा गरेको छैन। यस्तो चल्दैन। घरी घरी हामी भोट दिने मशिनजस्तो भएर बाँचिरहेका छौँ”, विमलले थपे, “बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले जे प्रतिबद्धता गर्छिन्, त्यो पूरा गर्छिन्। यसैलाई हेरेर हाम्रो जुन माग छ, स्थायी राजनीतिक समाधान, त्यसको प्रस्ताव उनीसमक्ष पठाइसकेका छौँ। हामी आशा गर्छौँ, आउँदो दिनमा यसलाई पूरा गर्नेछिन्।”

यसैले 2021 को बङ्गाल विधान सभा चुनाउमा सक्दो खटेर राज्यमा तेस्रोपटक ममता ब्यानर्जीलाई मुख्यमन्त्री बनाउने पनि गुरुङले बताए।

यसका साथै आज भाजपा छोड़ेर पुनः आफ्नो पार्टीमै फर्केका दार्जीलिङका नगरपार्षद्हरूलाई मोर्चा र तृणमूल कङ्ग्रेस एकजुट भएर दार्जीलिङ नगरपालिकाको बोर्ड गठन गर्ने तथा भाजपालाई गत्तिलो पाठ सिकाउने पनि गुरुङले बताए।

“हामी मैदानमा गएर उत्तर बङ्गालमा भाजपालाई गत्तिलो पाठ सिकाउनेछौँ, विमलले थपे।

उनले तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीसँग रहेर जस्तै कसरत गर्न परे पनि गर्ने तर यसपटक भाजपालाई अवश्यै पाठ सिकाउने प्रतिबद्धता दोहोऱ्याए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here