‘गोर्खाल्याण्ड धरना’-का लागि क्रामाकपा टोली दिल्लीमा प्रस्थान

0
1990
दिल्ली प्रस्थान गर्नअघि एनजेपीमा क्रामाकपा कार्यकर्ताहरू।

दार्जीलिङ, 5 नोभेम्बरः छुट्टै राज्य गोर्खाल्याण्डको मागमा नयाँ दिल्लीस्थित जन्तरमन्तरमा धरना दिनका लागि बिहीवार क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)- 40 सदस्यीय टोली दिल्ली प्रस्थान गरेको छ।

जानकारीका अनुसार उक्त टोलीलाई क्रामाकपा दार्जीलिङ आञ्चालिक समितिका सचिव शेखर छेत्री र केन्द्रिय समिति सचिव नर्बु लामाले अगुवाई गरेका छन्।

क्रामाकपाले आउँदो ८ र ९ दिसम्बरको दिन दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानहेतु छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरिनुपर्ने मागमा केन्द्रलाई चाप दिन जन्तरमन्तरमा दुईदिन धरना दिनेछ। यसै धरनामा सहभागी हुन आज क्रामाकपाका  ४० कार्यकर्ता दिल्ली प्रस्थान गरेका हुन्।

स्मरणरहोस्, शीतकालीन सत्र चलिरहेको बेला छुट्टै राज्य गोर्खाल्याण्डको मागप्रति ध्यानाकार्षण गराउन क्रामाकपाले केही दिनअघि दिल्लीमा धरना दिने घोषणा गरेको थियो। यसका साथै केही दिनअघि शेखर छेत्री, अरुण घतानी र किशोर प्रधान सामेल रहेको तीन सदस्यीय क्रामाकपा टोलीले दिल्ली भ्रमण गरेका थिए। त्यसबेला उक्त टोलीले लोकसभा अध्यक्ष ओम बिडलालगायत केन्द्रिय मन्त्रीद्वय थावरचन्द गेहलत र गजेन्द्रसिंह शेखावतसँग भेटवार्ता गर्नका साथै सांसद राजु विष्टमार्फत् केन्द्रिय गृहमन्त्री अमित शाहलाई दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानबारे केन्द्रिय गृहमन्त्री अमित शाहलाई एक ज्ञापन चढ़ाएको थियो।

जानकारीका अनुसार आउँदो ७ दिसम्बरको दिन पनि क्रामाकपाको अर्को टोली प्रस्थान गर्नेछ। उक्त टोलीलाई किशोर प्रधानले अगुवाई गर्नेछन्। अर्कोतिर उक्त दुईदिने धरनामा सहभागी बन्नका लागि क्रामाकपाले अघिबाटै गोर्खाल्याण्डपन्थी राजनीतिक पार्टी तथा अराजनीतिक सङ्घ-संस्थाहरूलाई पत्र पठाइसकेको थाह लागेको छ।

शीतकालीन सत्र चलिरहेकै बेला भाजपाले पछिल्लो लोकसभा चुनाउमा आफ्नो सङ्कल्प-पत्रमा सामेल गरेको दार्जीलिङ पहाड़ तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधानको प्रतिबद्धतालाई पुनः स्मरण गराउन तथा स्थायी राजनीतिक समाधानका माग संसदमा उठाइहेका सांसद राजु विष्टको हात दह्रो बनाउन क्रामाकपाले जन्तरमन्तरमा दुईदिने धरना आयोजन गर्ने निर्णय गरेको यसको युवा एकाइ गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो) महासचिव अरुण घतानीले बताए।

उनले अन्य राज्यहरूको गठन जाति र भाषाको आधारमा भएकोले गोर्खाहरूका लागि पनि छुट्टै राज्य अत्यावश्यक रहेकोले केन्द्र सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नका लागि यसमाथि गम्भीर विचार गर्नुपर्ने उनले बताए।

“छुट्टै राज्य गोर्खाल्याण्डको गठनले मात्र भारतीय गोर्खाहरूमाथि लाग्ने गरेको विदेशीको दाग मेट्नेछ। यसैले गोर्खाल्याण्डको गठनले मात्र दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधान हुनेछ”, उनले थपे, “ बङ्गालभित्रको व्यवस्थाले पहाड़ तराई, डुवर्सको स्थायी समाधान हुनेछैन। यसैले हामीले स्थायी राजनीतिक समाधानमार्फत गोर्खाल्याण्ड राज्यको निर्माण केन्द्रले गर्नुपर्ने भन्ने माग गरिरहेका छौं।”

यसैबीच गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति दिल्लीले दुवै दिनको धरनामा सक्रियतापूर्वक सहभागिता जनाउने बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here