डीएचआरले विश्व धरोहरको मान्यता पाएको दुई दशक पूरा, रङ्गारङ कार्यक्रम आयोजित

0
1034

दार्जीलिङ, 5 दिसम्बरः दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-ले विश्व धरोहरको मान्यता पाएको दुई दशक अर्थात् 20 वर्ष पूरा गरेको उपलक्ष्यमा महिनाव्यापी आयोजित कार्यक्रम बिहीवार समापन भयो।

यस अवसरमा आज बिहान स्थानीय रेलवे स्टेशनबाट एक विशेष ट्रेन चलाइएको थियो भने त्यसमा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरेका थिए।

यसका साथै रन फर डीएचआर र स्टिम इञ्जिनको खुल्ला डब्बामा सांस्कृतिक कार्यक्रम आयोजन गरिएको थियो, जसमा स्थानीय विद्यालयका विद्यार्थी र आम मानिसहरूले सहभागिता जनाएका थिए।

यसपछि स्थानीय चौरस्तामा आयोजन गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वोत्तर रेलवेका महाप्रबन्धक सञ्जीव रायले पछिल्लो 5 वर्षअघिको तुलनामा दार्जीलिङ हिमालयन रेलवेको माग वा यात्री सङ्ख्या दोब्बर बढ़ेको बताए।

उनले दार्जीलिङ हिमालयन रेलवे पहाड़ी क्षेत्रमा चल्ने यात्री रेलवेको एक उदाहरण नै हो भन्ने बताउँदै 138 वर्ष पुरानो भएर पनि यसले अझैसम्म असल ढङ्गले यात्रीहरूलाई सेवा प्रदान गरिरहेको बताए।

उनले भने, “यस रेलवेलाई यात्रीवर्गले पनि यसमा यात्रा गरेर सहयोग प्रदान गरिरहेका छन्। यसैले दार्जीलिङ रेलवे प्रशासन अहिलेसम्म पनि नचल्ने इञ्जिनहरूलाई पनि मरम्मति गरेर चल्ने बनाउन सक्षम बनिरहेको छ। फलस्वरूप आजको समय पनि दार्जीलिङ हिमालयन रेलवेसित 13 वटा वाष्प (स्टीम) इञ्जिन, 6 वटा डिजेल इञ्जिन र 70 वटाभन्दा अधिक कोचहरू छन्। जसमा विगत 5 वर्षअघि वर्षमा केवल 60 हजार जति यात्रीले यस रेल सेवाको आनन्द लिएका थिए भने गत वर्ष 1 लाख 30 हजार यात्रीले दार्जीलिङ रेलवे सेवाको आनन्द लिएका थिए।”

यति मात्रै होइन, उनले घैयाबारी, सोनादा रेलवे स्टेशनलाई पुनः उद्धार गरिएको अनि लिक बनाउने कार्य पनि भएको जनाए।

यसरी नै दार्जीलिङ हिमालयन रेलवेलाई विश्व धरोहरको सूचीमा सामेल सामेल गराउन अहम भूमिका निर्वाह गर्ने रोलिङ स्टक रेलवे बोर्डका सदस्य राजेश अग्रवालले दार्जीलिङ पहाड़ र दार्जीलिङ हिमालयन रेलवे एउटै सिक्काको दुइ पाटा रहेको जनाउँदै यसले धेरै उतार चढ़ाउको स्थिति पनि देख्न परेको बताए।

उनले भने, “दार्जीलिङ हिमालयन रेलवे धेरै पुरानो भयो भनेर रेलवे प्रशासनले धेरै अप्ठ्यारो स्थितिको पनि सामना गर्न परेको थियो। तरै पनि यसलाई सही ढङ्गले राख्ने प्रयास जारी छ, यसैको परिणामस्वरूप 100 वर्ष पुरानो दार्जीलिङ रेलको 795 नम्बरको इञ्जिन अझै सचल अवस्थामा छ।”

यसै इञ्जिनले सञ्चालन गरेको रेलमा चढ़ेर आज उनीहरू घूम रेलवे स्टेशनबाट दार्जीलिङ रेलवे स्टेशनसम्म आएको पनि बताए।

“दार्जीलिङ हिमालयन रेलवे 138 वर्ष पुरानो भए पनि यो अझैसम्म असल अवस्थामा छ भन्ने प्रमाण आज 795 नम्बरको इञ्जीनको चलाचलले स्पष्ट पारेको छ”, उनले भने।

स्मरण रहोस्,  सन् 1879-1881-मा निर्माण भएको दार्जीलिङ हिमालयन रेलवेलाई 5 दिसम्बर 1999-मा युनेस्कोले विश्व धरोहर स्थलको रूपमा घोषणा गरेको थियो। जसले 20 वर्ष पूरा गरेको छ।

रेलवे विभाग सूत्रले दिएको जानकारीअनुसार, सन् 1878-मा सिलगढ़ी र कलकत्तामाझ रेल सेवा शुरू भएको थियो। त्यसैलाई केन्द्र गरेर तत्कालीन ईस्टर्न बेङ्गल रेलवेका एजेन्ट फ्रेङ्कलिन प्रेसटीजले बंगालका तत्कालीन लेफ्टिनेन्ट गभर्नर एस्ले इडेनसमक्ष सिलगढ़ीदेखि दार्जीलिङसम्म पनि ट्राम वे शुरु गर्ने प्रस्ताव दिएका थिए।

जसमाथि देखरेख गर्नको लागि लेफ्टिनेन्ट गभर्नर एस्ले इडेनले एउटा कमिटी पनि गठन गरेका थिए अनि त्यसै कमिटीको अनुमोदनपछि उनले सिलगढ़ीदेखि दार्जीलिङसम्म रेलवे लीक बिछ्याउने अनुमति प्रदान गरेका थिए।

जसको फलस्वरूप त्यसै वर्ष अर्थात 1879-देखि सिलगढ़ीदेखि दार्जीलिङबीच रेलवे लीक बिछ्याउन शुरु गरिएको थियो। जसको काम सन् 1881-मा पूर्ण भएको थियो।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here