कालेबुङमा पोस्टर वार

0
1582
आइतवार कालेबुङमा विनयपन्थी गोजमुमोले टाँसेको पोस्टर।

कालेबुङ,  ६ जनवरी :  कालेबुङमा ‘पोस्टर वार’ शुरु भएको छ। शनिवार राति विमल गुरुङका समर्थकहरूले शहरमा पोस्टर टाँसेपछि यसलाई काउण्टर दिँदै विनय तामाङपन्थी युवा मोर्चाले पनि आइतवार शहरमा पोस्टर टाँसेको छ।

विनयपन्थी गोजमुमो र गोजयुमोको नाममा टाँसिएको पोस्टरको भाषा आक्रामक छ। पोस्टरमा पछिल्लो गोर्खाल्याण्ड आन्दोलनदेखि भूमिगत अवस्थामा रहेका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङ र उनको टीम तथा भाजपाप्रति कटाक्ष गरिएको छ।

आज दिउँसो विनयपन्थी मोर्चाले टाँसेको एक पोस्टरमा लेखिएको छ, ‘जनतालाई  बिचल्ली बनाएर जाने गद्दार भगौड़े नेता विमल गुरुङ र टोलीलाई कालेबुङका जनता प्रतीक्षामा छैन। असामाजिक तत्त्वहरूले  कालेबुङको शान्ति भङ्ग गर्ने प्रयास नगरोस्।’

त्यस्तै अर्को पोस्टरमा लेखिएको छ, ‘गोर्खाको सपना मेरो सपना हो भन्दै  गोर्खाहरूको भावनासँग खेल्ने राजनीति पहाड़लाई स्वीकार छैन। पहाड़का जनता अब सचेत र जागरुक भएको छ। अबउसो पहाड़मा यथार्थको राजनीतिको स्थापना भइसकेको छ।  विमल गुरुङजस्तो बगम्फुसे नेताहरूको पहाड़लाई दरकार छैन।’

पोस्टरमा विनय तामाङ र अनित थापालाई  जिन्दावाद भन्दै कालेबुङका जनता नयाँ सोच र नयाँको विचारको पक्षमा रहेको तथा १० वर्षसम्म गोर्खाहरूको विश्वासलाई पटक पटक तोड़्ने र खेलाइँची गर्ने भाजपा र भाजपाको मोहोरा विमल गुरुङलाई पहाड़का जनताले स्वीकार नगर्ने दाबी गरिएको छ।

अर्कोतिर शनिवार राति विमल गुरुङको पक्षमा जनताको नाममा पोस्टर टाँसिएको थियो। पोस्टरमा विमल गुरुङलाई स्वागत गर्नका साथै ‘बेकामे जीटीए रद्द’ गर्नुपर्ने बताइएको थियो।

जनताको नाममा विमल गुरुङको समर्थनमा टाँसिएको पोस्टर

विमलको समर्थनमा पोस्टरमा लेखिएको छ, ‘बेकामे जीटीए रद्द गर। केन्द्र सरकार गोर्खालाई न्याय देऊ। ११ जनजाति दिँदैनौ भने सीधा गोर्खाल्याण्ड देऊ। समस्त शहीद अमर रहुन्। विमल गुरुङ जिन्दावाद। विमल तिमी छिट्टो आऊ। जनता तिम्रो साथमा छ।’

त्यस्तै अर्को पोस्टरमा लेखिएको छ,  ‘दुईपटक सांसद दियौं।  ११ जनजाति दिँदैनौ भने गोर्खाल्याण्ड के दिन्छौ? विमल तिमी नडराऊ, जनता तिम्रो साथमा छ। मोदी तिमीले देखेको सपना कहिले विपना हुन्छ?’ जनतामा नाममा लेखिएको यो पोस्टरमा अहलुवालियाप्रति कटाक्ष गर्दै ‘हुनुभन्दा नहुनु निको’ बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here