दिल्लीमा गोर्खाल्याण्डको माग गर्दै धरना प्रदर्शन

0
1738
आइतवार दिल्लीमा विमलपन्थी गोजमुमोद्वारा निकालिएको धरना प्रदर्शन।

दार्जीलिङ, ६ जनवरी : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा दिल्ली-एनसीआर कमिटीले आइतवार पुनः दिल्लीमा धरना प्रदर्शन गऱ्यो। साप्ताहिक रूपमा गरिरहेको धरना प्रदर्शन कार्यक्रमलाई निरन्तर दिँदै आज पनि चर्को नाराबाजीसहित धरना प्रदर्शन आयोजन गरेको त्यहाँका संयोजक आकाश रामुदामुले जनसंवादलाई बताए।

उनका अनुसार यो धरना प्रदर्शन कार्यक्रममा आज दिल्ली-एनसीआरका डेढ़ सयभन्दा अधिक विमल गुरुङपन्थी गोजमुमो कार्यकर्ताले सहभागिता जनाएका थिए। बिहान १० बजे दिल्लीको राजघाटमा भेला भएका ती गोजमुमो कार्यकर्ताहरूले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा तथा दार्जीलिङ तराई-डुवर्सका गोर्खाल्याण्डपन्थी जनतालाई बङ्गाल सरकारले गरिरहेको अन्याय अत्याचारविरुद्ध चर्को नारा लगाउँदै ऱ्याली पनि आयोजन गरेका थिए। यो ऱ्याली जन्तरमन्तरमा गएर टुङ्गिएको थियो भने जन्तरमन्तर एकाध वक्ताले सम्बोधन गरेका थिए।

“संविधानले दिएको प्रावधानअनुसार नै गणतान्त्रिक ढङ्गमा हामीले छुट्टै राज्य गोर्खाल्याण्डको माग गरेका हौं। भाजपाले हामीलाई न्याय दिने आश्वासनसमेत दिएको थियो। यसैले देशको निर्माण र सुरक्षामा गोर्खाहरूले पुऱ्याएको योगदानलाई कदर गरी केन्द्रले छुट्टै राज्य गोर्खाल्याण्डका लागि चाँड़ोभन्दा चाँड़ो पहल गर्नु पर्छ। देशले छुट्टै राज्य गोर्खाल्याण्डको गठन गरे मात्र गोर्खाहरूले दिएको योगदानको साँचो अर्थमा कदर हुनेछ’’, संयोजक रामुदामुले भने।

उनले बताएअनुसार दिल्लीका गोजमुमोहरू विमल गुरुङकै नेतृत्वमा गोर्खाल्याण्ड हुने कुरामा विश्वस्त छन्। धरना प्रदर्शनबारे जानकारी गराउँदै उनले भने, “हामीले प्रत्येक साताको आइतवार छुट्टै राज्य गोर्खाल्याण्डको माग र दार्जीलिङ पहाड़मा बङ्गाल सरकारले गरिरहेको अन्याय अत्याचारविरुद्ध धरना प्रदर्शन गरिरहेका छौं। जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म यो धरना प्रदर्शन जारी रहनेछ।”

उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाड़मा गणतन्त्रको हत्या गरी गोर्खाल्याण्डको पक्षमा रहेका जनतालाई बर्बरतापूर्ण अन्याय अत्याचार गरिरहेको आरोप पनि लगाए।

“दार्जीलिङमा गणतन्त्र छैन। गोर्खाल्याण्ड माग्ने हाम्रा मानिसहरूलाई प्रतड़ित गरिँदैछ। झूटा मामिलाहरू थोपेर बिनाकारण जेलमा थुन्ने कार्य हुँदैछ’’, उनले थपे, “पहाड़मा खुल्ला रूपमा मानवअधिकारको हनन् हुँदा पनि मानव अधिकारसँग सरोकार राख्ने व्यक्ति र सङ्घ-संस्थाविशेषहरू आँखा चिम्लेर बसेका छन्। केन्द्रले बङ्गालको गैर-कानुनी र संविधानविरोधी कार्यमाथि झट्ट रोक लगाइ पहाड़मा गणतन्त्र पुनर्बहाली गर्न पहल गर्नुपर्छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here