तामाङ विकास बोर्डमाथि घोटालाको आरोप, एक महिनाभित्र घर बनाउन शुरु नगरे कानुनी कारबाही गर्ने

0
1523

दार्जीलिङ, 5 जनवरीः तामाङ विकास बोर्डमाथि फेरि  घोटालाको आरोप लागेको छ। दार्जीलिङ आलुबारीस्थित लिम्बू गाउँ निवासी पासाङ तामाङको घर निर्माणका लागि आएको एक लाख रुपियाँ तामाङ विकास बोर्डका पदाधिकारीहरूले शालिमार इन्टरप्राइजेसको एकाउण्टमा जमा गर्न लगाएर अझैसम्म घर नबनाएको आरोप लागेको हो।

आजका दिनसम्म पनि घर नबनाइदिएकोले नै तामाङ विकास बोर्डले गरीब जनताको घर निर्माणका लागि आएको राशिमा घोटाला गरिरहेको स्पष्ट भएको टाँसी छोकर लिङ अल तामाङ बुद्धिस्ट एसोसिएशनले आरोप लगाएको छ।

अर्कोतिर, घर निर्माणका लागि यो एसोसिएशनले तामाङ विकास बोर्डलाई एक महिनाको अल्टिमेटम पनि दिएको छ। यदि एक महिनाभित्र पनि तामाङ विकास बोर्डले पासाङ तामाङको घर निर्माणका लागि आवश्यक काम नगरे, विकास बोर्डका सम्बन्धित पदाधिकारीवर्गलाई अदालतमा उभ्याउने पनि चेताउनी दिएको छ।

पासाङ तामाङ तामाङ समुदायको यसै नयाँ सङ्गठनका कोषाध्यक्ष हुन्, जसले वर्ष 2018-मा आफ्नो घर निर्माणका लागि तामाङ विकास बोर्डमा अर्जी चढ़ाएका थिए। जसको फलस्वरूप, 25 मार्च 2019-को दिन पासाङकी पत्नी वीणा तामाङको एकाउण्टमा एक लाख रुपियाँ आएको थियो।

तर, यो राशि वीणा तामाङको एकाउण्टमा जमा भएको 2 दिनपछि तामाङ विकास बोर्डको कार्यालयबाट पासाङलाई एउटा फोन आएको थियो। जसमा पासाङलाई उक्त राशि शीघ्र शालिमार इन्टरप्राइजेसको एकाउण्टमा जमा गर्ने निर्देश दिइएको थियो।

यसैको आधारमा पासाङले यो राशि शालिमार इन्टरप्राइजेसको एकाउण्टमा 2 अप्रेल 2019-को दिन जमा गरे।

यसपछि विकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानले केही दिनभित्रै घर निर्माण गर्नका लागि ईंटा, बालुवा, गिटी आउने बताउँदै ईंटा गन्ती गरेर मात्रै लिने पनि निर्देश दिएको पासाङले बताए।

त्यसपछि म लगातार 2 दिनसम्म ईंटा तथा अन्य सामानहरू पर्खिएर बसें। ईंटा गन्ती गर्नका लागि हातमा पेन र पेपर पनि बोकेको थिएँ”, पासाङ तामाङले भने, “तर आज करिब 9 महीना बितिसक्दा पनि मेरो घर निर्माणका लागि एउटा पनि ईंटा आएन। यसैकारण आज मिडियाअघि आउन बाध्य बनेको हो।

यसै विषयमाथि बल दिँदै टाँसी छोकर लिङ अल तामाङ बुद्धिष्ट एसोसिएशनका महासचिव सुरज तामाङले पनि भने, “पइश्चम बङ्गाल सरकारले तामाङ समुदायको विकासका लागि नै बर्सेनि करोड़ौं रुपियाँ आर्थिक राशि प्रदान गर्दै आइरहेको छ। तर, यस विकास बोर्डका पदाधिकारीहरूले केवल कालेबुङमा मात्रै विकासको कार्य गरिरहेका छन्। उनीहरूले दार्जीलिङ, खरसाङ, मिरिक आदि क्षेत्रका गरीब तामाङ सदस्यहरूको समस्यालाई कुनै ध्यान नै दिएका छैनन्।

यसैले आगामी केही दिनपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आउने जानकारी पाइएको छ। र, यस विषय लिएर टाँसी छोकर लिङ अल तामाङ बुद्धिस्ट एसोसिएशनले मुख्यमन्त्रीसित पनि भेट गर्ने योजना बनाएको उनले जनाए।

एसोसिएशनले तामाङ विकास बोर्डका शीर्ष पदाधिकारीहरूको चलखेललाई मुख्यमन्त्रीअघि नै पर्दाफास गर्ने उनको भनाइ छ।

यति मात्रै नभएर एसोसिएशनले तामाङ विकास बोर्डले हालसम्म गरेका विकास कार्यहरूका विस्तृत विवरण हासिल गर्नका लागि एक आरटीआई पनि गर्ने योजना बनाएको उनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here