नन्द हाङ्खिमलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार

0
162

सिलगढी, ६ जनवरीः साहित्यकार नन्द हाङ्खिमलाई यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार-२०२५ अर्पण गरिने बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले निर्णय लिएको छ ।

पश्चिम डुवर्सको बाग्राकोटमा आइतबार बसेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको बैठकमा हाङ्खिमलाई १४औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा पुरस्कृत गरिने निर्णय भएको हो ।

पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षता सम्पन्न बैठकमा नन्द हाङ्खिमको नामलाई सर्वसम्मतिले अनुमोदित गरेको थियो ।

आउँदो २ फरवरीका दिन बाग्राकोटमा एक कार्यक्रमबिच हाङ्खिमलाई पुरस्कार अर्पण गरिनेछ ।

पुरस्कारमा प्रशस्ति-पत्र, अङ्ग वस्त्र र नगद राशि रहनेछ ।

विशिष्ट साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा गठित प्रतिष्ठानले सन् २०१२ देखि भारतीय नेपाली साहित्यका प्रतिभाशाली हस्तीहरूलाई प्रत्येक वर्ष बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गर्दै आएको छ।

११ नोभेम्बर, १९४४ – मा दार्जिलिङको मार्गरेट्स होप चियाबारीमा जन्मिएका नन्द हाङ्खिमले ६ दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा कलम चलाउँदै आएका छन् ।

उनका ला (१९६४), अर्को अनुहार (१९७१), विडम्बना (२०१९) उपन्यास; उन्मुक्ति (१९७०), सत्ता ग्रहण (२०१२) र प्रीतिका चिट्ठीहरू (पत्रात्मक कथा सङ्ग्रह, १९७९) कथा सङ्ग्रह; प्रेमालाप (१९७१), चियाबारीमा (खण्डकाव्य, १९७२), हिमपुरीको देशमा (खण्डकाव्य, २०१६), मैनबत्तीको आत्मकथा (खण्डकाव्य, २०१६) मृत्यु दिवस (एकाङ्की, १९७६), युद्धहरू (१९९३), अभिषेक (१९९५), लीला-अ-लीला (२००६) शिव-सती (काव्यात्मक नाटक, २०२०) नाटक; नन्दन निबन्धन (२०१५) निबन्ध; गीतानन्द (२०१७) गीत सङ्ग्रह प्रकाशित छन् ।

हालै सिक्किमको परि प्रकाशनले तीनवटा खण्डमा उनका कृतिहरूलाई नन्द हाङ्खिमः कृति कुञ्ज (२०२४) नाम दिएर प्रकाशित गरेको छ ।

८१ वर्षको उमेरमा पनि सक्रिय रूपले कलम चलाइरहेका हाङ्खिमका चारवटा कृति एकदिन जङ्गलमा (बाल नाटक), हाम्रा केही नाङ्गा कथाहरू (कथा सङ्ग्रह), चिन्तक चरित्रहरू (लेख सङ्ग्रह) र संस्मारिका (लेख सङ्ग्रह) प्रकाशोन्मुख रहेका छन् ।

चियाबारीमा खण्डकाव्य उनको चर्चित कृति हो भने सत्ता ग्रहण कथा सङ्ग्रहका लागि उनलाई २०१४ मा साहित्य अकादमी पुरस्कार प्राप्त भएको थियो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here