दार्जीलिङ, 6 फरवरीः सिङ्ताम चियाबारीका श्रमिक/कर्मचारीहरू आफ्नो काम छोड़ेर आज सड़कमा ओर्लिए। विशेषगरी श्रमिकहरूको दुई पालिको र कर्मचारीहरूको एक महिनाको वेतन मालिकपक्षले नदिएकै कारण उनीहरू सड़कमा ओर्लेका हुन्।
स्मरणरहोस्, यस चियाबारीका श्रमिकहरूलाई पाक्षिक रूपमा अर्थात् 15-15 दिन तथा कर्मचारीहरूलाई मासिक रूपमा वेतन दिनेगरिन्छ।
सिङ्ताम चियाबारीका यी श्रमिक/कर्मचारीहरूका अनुसार उनीहरूले वेतन मात्र होइन तर, अन्य सुविधाहरू पनि लामो समयदेखि पाएका छैनन्। जसको फलस्वरूप आज उनीहरूले दार्जीलिङ सह-श्रमायुक्त कार्यालय, भविष्यनिधि कोष कार्यालयअघि पनि विक्षोभ प्रदर्शन गरे।
विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-को नेतृत्वमा आयोजनमा यो जुलूस तथा विक्षोप प्रदर्शन गरिएको थियो।
र्याली र विक्षोप प्रदर्शनपछि पत्रकारहरूलाई सम्बोधन गर्दै डीटीडीपीएलयूका कार्यकारी अध्यक्ष जेबी तामाङले भने, “सिङ्ताम चियाबारीसँगै अन्य धेरैवटा चियाबारीले पनि आफ्ना श्रमिकहरूलाई उनीहरूले पाउनुपर्ने सहुलियत दिएका छैनन्। यसैले यी सुविधाहरू चियाश्रमिकहरूलाई समयमा नै नदिए, हामी फर्स्ट फ्लसको चिया टिप्न दिइनेछैनौं।”
उल्लेखनीय छ, विश्वमा नै सबैभन्दा बेसी माग रहेको विश्वविख्यात दार्जीलिङ चियाको फर्स्ट फ्लसको टिपाइ प्रत्येक वर्ष फरवरी महिनाको अन्तिम सातादेखि शुरु हुनेगर्छ।
यसैले गोजमुमोको श्रमिक सङ्गठन डीटीडीपीएलयूले चियाबगान मालिकहरूमाथि चाप दिनका लागि फर्स्ट फ्लसको चियामाथि नै ध्यान दिने भएको छ।
करिब 850 जना कार्यरत् रहेको सिङ्ताम चियाबारीका श्रमिकहरूले त्रिपक्षीय सम्झौताअनुसार, तय भएको रहल 8 प्रतिशतको बोनस आजसम्म पनि श्रमिकहरूलाई भुक्तान नगरेको पनि युनियनले बताएको छ।
यसबारे तामाङले भने, “सिङ्ताम चियाबारीका श्रमिकहरूको भविष्यनिधि कोष करिब एक वर्षदेखि भुक्तान गरिएको छैन। 2016-देखि 2019-सम्म अवकाश ग्रहण गर्ने श्रमिक-कर्मचारीहरूको ग्रेच्युटी भुक्तान गरिएको छैन।” यसका साथै 1995-देखिको ग्रेच्युटी पनि बाँकी रहेको उनले बताएका छन्।
डीटीडीपीएलयूका कार्यकारी अध्यक्ष जेबी तामाङका अनुसार यसबाहेक अन्य सहुलियतहरूको कुरै नगर्दा हुने अवस्था छ। कतिसम्म भने महिनामा चियाश्रमिकहरूले पाउनुपर्ने करिब 300 ग्राम चियासमेत मालिकपक्षले प्रदान गरेको छैन।
“यस्तो अवस्थामा यस चियाबारीका श्रमिकहरू सड़कमा नओर्लिएर कहाँ जाने?” उनको प्रश्न छ।
अर्कोतिर, सिङ्ताम चियाबारीमा बर्खा वा चिया टिपाइको मौसममा मेलोमा उपस्थित नहुने श्रमिकहरूलाई हिउँदे समयमा काम नदिने प्रबन्धनपक्षले निर्णय गरेको भन्दै तामाङले युनियनको पक्षमा यस्तो निर्णयप्रति तीखो शब्दमा विरोध जताएका छन्।
उनका अनुसार यसलाई सह-श्रमायुक्तले पनि स्वीकार गरेका छैनन्। यसैबीच, तामाङले बन्सल टी कम्पनीका चियाबारीहरूले पनि श्रमिकहरूको भविष्यनिधि कोष भुक्तान नगरेको साथै 322 जना अवकाशप्राप्त श्रमिकको ग्रेच्युटी पनि नदिएको आरोप लगाए।
उनले आज सिङ्ताम चियाबारीबाट श्रमिक आन्दोलन शुरु भएको बताउँदै यो आन्दोलनले अझै बृहत् रूप लिने पनि जनाए। यसरी नै उनले चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागू गर्नुपर्ने मागमाथि पनि जोड़ दिएका छन्।