दार्जीलिङ, 5 फरवरीः चियाकमानका स्टाफ, सब्-स्टाफहरूको वेतनबाट राशिनको दैनिक 9 रुपियाँ गरेर कुल 234 रुपियाँ चियाकमान प्रबन्धनपक्षले काटेको विषयको विमलपन्थी श्रमिक सङ्गठन दार्जीलिङ तराई, डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले कठोर विरोध जनाएको छ।
यसै विषय लिएर श्रमिक सङ्गठनका अध्यक्ष सुरज सुब्बा, सचिव मिलन प्रधान आदिको टोलीले राज्यका श्रममन्त्री मलय घटकसित भेट गरेको मिलन प्रधानले बताएका छन्।
उल्लेखनीय छ, गत 20 दिसम्बर 2020-का दिन विभिन्न श्रमिक सङ्गठन, चियाकमान मालिकपक्ष र राज्य सरकारमाझ एक बैठक भएको थियो, जसमा चियाश्रमिक र स्टाफ, सब्-स्टाफको रोजी अनि वेतन 15 प्रतिशतको दरले वृद्धि हुने निर्णय भएको थियो र यसै जनवरी महिनादेखि यो लागू पनि भएको छ।
चियाश्रमिकहरूले 176 रुपियाँमा 15 प्रतिशत वृद्धि भएका कारण 202 रुपियाँ दैनिक रोजी पाउन थालेका छन्। तर, स्टाफ, सब्-स्टाफको वेतनबाट राशिनको दैनिक 9 रुपियाँ गरी महिनामा 26 दिनको राशि काटेको मिलन प्रधानले बताए।
उनले स्टाफ, सब्-स्टाफको वेतन काट्न नहुने विषय लिएर मन्त्रीसित कुरा गरेको अनि मन्त्रीले तत्कालै संयुक्त श्रमायुक्त मोहम्मद रिजवानलाई यसबारे ठोस पहल गर्ने निर्देश दिएको पनि जानकारी गराए।
यसरी नै प्रधानले सिन्कोना बगानका श्रमिक-कर्मचारीहरूको बद्ली काम, पदोन्नतिबारे पनि मन्त्रीसित कुरा गरिएको बताउँदै यसबारे मन्त्रीले मुख्यमन्त्रीसित चाँड़ै कुरा गर्ने वचन दिएको पनि बताए।