विधानसभा चुनाउबारे गणतन्त्रप्रेमी राजनैतिक दलहरूसँग मिलेर क्रामाकपाले रणनीति तयार गर्ने

0
950

दार्जीलिङ, 5 फरवरीः आउँदो विधानसभा चुनाउबारे क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले दार्जीलिङ पहाड़का गणतन्त्रप्रेमी राजनैतिक पार्टीहरूसित मिलेर उचित रणनीति तयार पार्ने योजना तयार पारेको छ।

यसका साथै पार्टीले भाजपासितको गठबन्धनलाई पनि यथावत राख्ने तय गरेको पार्टी अध्यक्ष आरबी राईले बताए।

आज क्रामाकपा केन्द्रिय समितिको एक बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै पार्टी अध्यक्ष राईले भने, “भाजपासितको हाम्रो सम्बन्ध अझै पनि यथावत नै छ अनि आगामी विधानसभा चुनाउमा पनि यो सम्बन्ध जारी राख्ने तय गरिएको छ। तर, भाजपा नेतृत्वावधीन केन्द्र सरकारले विगतमा राखिएका शर्तहरूलाई पनि शीघ्र पूर्ण गरिदिनुपर्छ।’’

पीपीएस (स्थायी राजनैतिक समाधान) भाजपाकै सृजना हो, यसमाथि भाजपा वा केन्द्र सरकारले के सोच्दैछ? यसबारे गत दिसम्बर महिनामा दिल्लीमा भएको वार्ताको समय केन्द्रिय गृहमन्त्री अमित शाहलाई सोझोप्रकारले प्रश्‍न गरिएको पनि राईले बताए।

“गोर्खा समुदायको राजनैतिक सुरक्षा र राष्ट्रिय परिचयका लागि नै छुट्टै राज्य गोर्खाल्याण्डको माग उठेको हो र यसमाथि कुनै सम्झौता नै हुनसक्तैन। यसैले हाल केन्द्रमा भाजपा बहुमतमा रहेको समय नै यसमाथि ठोस कार्य हुनपर्छ। यसै विषयलाई ध्यानमा राखेर नै क्रामाकपाले भाजपालाई गत लोकसभा चुनाउमा समर्थन जनाएको हो अनि त्यसै समर्थनको आधारमा अझैसम्म पनि हाम्रो मित्रता कायम नै छ”, उनले थपे, “यसैकारण भाजपा आफैले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेको पीपीएसबारे शीघ्र फलदायक परिणाम ल्याउनुपर्छ। पछि संसदमा आफू अल्पसङ्ख्यामा आएपछि यसमाथि पहल गर्दा कुनै फाइदा हुनेछैन।”

यसैबीच, आरबी राईले छुट्टै राज्य गोर्खाल्याण्डको विषयमाथि पनि केन्द्र सरकारले वार्ता शुरू गर्नुपर्ने अघिबाटै केन्द्रिय गृहमन्त्रीसमक्ष माग पेश गरेको जानकारी गराए।

एक प्रश्‍नको उत्तरमा उनले थपेस “विधानसभा चुनाउको घोषणा भएपछि नै सबै पार्टीसित कुराकानी शुरू हुनेछ। तरै, पनि भाजपासितको सम्बन्ध यथावत छ। यसैले आगामी चुनाउमा के कस्तो निर्णय लिनुपर्ने हो, त्यसबारे पनि अवश्यै चर्चा हुनेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here