‘गोर्खा ध्वनि’-का सम्पादकले 24 घण्टाभित्र माफी नमागे विमलले मानहानिको मुद्दा हाल्ने

0
1839
विमल गुरुङ।

दार्जीलिङ, 6 मार्चः गुवाहाटीबाट सञ्चालित ‘गोर्खा ध्वनि’ न्युज पोर्टलका सम्पादकले 24 घण्टाभित्र माफी नमागे मानहानिको मुद्दा हाल्ने गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले चेताउनी दिएका छन्।

यसका साथै उनले एक प्रेस विज्ञप्ति जारी गरी उक्त न्युज पोर्टलमा छापिएको खबरलाई भ्रामक र षड़यन्त्रपूर्ण बताएका छन्।

‘भाजपासँग भरोसा उठ्यो, ममतासँग सम्झौता गर्न तत्पर रोशन-विमल’ शीर्षकको समाचारलाई तीखो शब्दमा खण्डन गर्दै विमलले भनेका छन्, ‘गोर्खा ध्वनि’ नामक एक फेसबुक पेजमाविभिन्न भ्रामक तथ्य दिएर मलगायत महासचिव रोशन गिरीलाई बदनाम गराउने जुन षड़यन्त्र गरिएको छ, त्यस कार्यको म घोर भर्त्सना जनाउँदछु। भाजपासँग हाम्रो जुन गठबन्धन छ। र, यो गठबन्धनको माध्यमद्वारा हाम्रो जातिको मुद्दा फत्ते हुनै लागेको बेला यो कतिपय जातिविरोधी तत्त्वहरूले खेलेको चाल हो।’

गुरुङले विज्ञप्तिमा थप भनेका छन्, ‘मैले आफ्ना सबै कुरा जातिका लागि गुमाइसकेको छु। मेरो आफ्नो भन्ने अहिले के नै पो रहेको छ र? जातिका लागि मैले आफ्नो सर्वस्व गुमाइसकेको छु। यसर्थ जातिलाई गद्दार गर्ने र जातिका लागि षड़यन्त्र गर्नेहरूसँग म कहिल्यै सम्झौता गर्न सक्तिन। कसैले यस्तो अपप्रचार गर्नु म एकदमै निन्दनीय ठान्दछु।’

यसका साथै गोर्खा ध्वनिका सम्पादकले यस खबरबारे 24 घण्टाभित्र माफी नमागे, ती सम्पादकविरुद्ध मानहानिको मुद्दा लगाउन आफू बाध्य हुने पनि विमलले विज्ञप्तिमा बताएका छन्।

उल्लेखनीय छ,  असमको गुवाहाटीद्वारा गोर्खा ध्वनि नामक न्युज पोर्टलले हिजो अर्थात् बिहीवार ‘भाजपासँग भरोसा उठ्यो, ममतासँग सम्झौता गर्न तत्पर रोशन-विमल’ शीर्षकमा एक समाचार प्रकाशित गरेको छ।

उक्त समाचारमा विमल गुरुङ र रोशन गिरीको भाजपामाथि भरोसा उठिसकेको कारण ममता ब्यानर्जीसँग सम्झौता गर्न तत्पर रहेको दाबी गरिएको छ।

यति मात्र होइन, सम्झौताका लागि यी दुवै मोर्चा नेता तृणमूल कङ्ग्रेसका महासचिव एवं राज्यका शिक्षा मन्त्री पार्थ च्याटर्जी र ममता ब्यानर्जीकै भदै एवं लोकसभा सांसद अभिषेक ब्यानर्जीसँग धेरैपटक कुराकानी गरेर सम्झौताको प्रस्ताव राखेको दाबी गरेको छ।

उक्त समाचारमा रोशन गिरीले पार्थ च्याटर्जीलाई आफूहरू पहाड़ फर्केको खण्डमा राजनीतिबाट संन्यास लिएर चुपचाप बस्ने ठूलो प्रस्ताव दिए र गिरीको प्रस्तावअनुसार पार्थ च्याटर्जीले सहयोगी दल गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङसँग वार्तालाप गरेपछि अस्वीकार गरेको दाबी गरिएको छ।

गोर्खा ध्वनि न्युज पोर्टलको को कार्यालय एमकेएस भवन, केबीबी पथ पल्टन बजार गुवाहाटी बताइए तापनि सम्पादकको नाम खुलाइएको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here