
दार्जीलिङ, 6 मार्चः घूम-जोरबङ्ग्लो समष्टिबाट विभिन्न पार्टी त्यागेर 50 घर गोरामुमोमा सामेल भएको दावी गरिएको छ।
समष्टि अध्यक्ष मणि लामा र प्रतिनिधिहरूको अगुवाइमा यी 50 घर गोरामुमोमा सामेल भएको र उनीहरूलाई दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले झण्डा प्रदान गरी पार्टीमा स्वागत गरेको बताइएको छ।
यसैबीच, प्रतिनिधि गोरामुमोमा मानिसहरू सामेल भइरहेकोमा एड्वर्डले खुशी व्यक्त गरे।
उनले भने, “साँच्चै अब यो पहाड़ले परिवर्तन चाहेको मैले अनुभव गरेको छु। हामीले जनतालाई साँचो कुरा राखेर अघि बढ़िरहेका छौँ। जनताले पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वलाई सही मूल्याङ्कन गरेको छ। यसकारण आज जनता हामीसँग दिनहुँ जोड़िरहेका छन्।”
अजय एड्वर्डका अनुसार समय गोरामुमोको पक्षमा छ।” उनले सबैलाई मिलेर काम गर्ने आह्वान गर्दै अब गोर्खा जाति स्वाभिमानसँग जिउनुपर्ने र गोर्खा जातिले राज गर्नुपर्छ कुरामा जोड़ दिए।
हिजो भोटे बस्ती रोड चौरस्तास्थित अजय एड्वर्डको कार्यालयमा सम्पन्न यस समर्थन कार्यक्रममा गोरामुमो केन्द्रिय समिति सदस्य वाई. लामा, मञ्जिला तामाङलगायत अन्य उपस्थित थिए।
