खरसाङ, ६ अप्रेलः भाजपाका खरसाङ उम्मेदवार बीपी बजगाइँको समर्थनमा आज सांसद राजु बिष्टले खरसाङमा रोड शो गरे।
यसअवधि उनले मन्टिभियट ग्राउन्डको निरीक्षण पनि गरे, जहाँ भोलि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विशेष उपस्थितिमा भाजपाको चुनावी जनसभा हुँदैछ।
यसैबीच, बिष्टले आज एक प्रेस विज्ञप्ति जारी गरी बङ्गालमा भाजपा सरकारले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)- लागू गर्नेबारे कुनै निर्णय नलिएको तर तृणमूल कङ्ग्रेसले एनआरसीलाई लिएर गोर्खाहरूमाझ दुष्प्रचार गरिरहेको बताएका छन्।
यद्यपि उनले जहिल्यै पनि एनआरसी लागू गरिनेछ, त्यो देशको राष्ट्रिय हित र नागरिकहरूका अधिकारहरूको रक्षा गर्न नै लागू गरिने पनि बताएका छन्।
साथै उनले भाजपा बङ्गालको सत्तामा आउनेसाथै चियाबगान, सिन्कोना बगान, वनबस्ती र डीआई फण्ड क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई उनीहरूका जमिनको मालिकना हक पर्जापट्टा दिने पनि दावी गरेका छन्।
‘तृणमूल कङ्ग्रेसले चियाबगान, सिन्कोना बगान, वनबस्ती, डीआई फन्ड क्षेत्रमा बस्ने हाम्रा जनतालाई पर्जापट्टा दिएको छैन। किनभने तिनीहरूले हाम्रो क्षेत्रमा चुपचाप रोहिङ्ग्याहरूलाई भित्र्याइरहेका छन्’, बिष्टले थप भनेका छन्, ‘तृणमूल कङ्ग्रेसले खेलेको अर्को खतरनाक खेल हो- चियाबगानका श्रमिकहरूको वेतनलाई जानीबुझी कम्ती राख्नु; ताकि हाम्रा युवाहरू आजीविकाको खोजीमा टाढ़ा-टाढ़ाका शहरहरूतिर पलायन गरून्। अनि यसको फाइदा उठाएर तिनीहरूले हाम्रा चियाबगानहरूमा काम गर्न अनुप्रवेशकारीहरूलाई पठाउन सकून्। तिनीहरू हामीलाई हाम्रै घरबाट बाहिर निकाल्नका लागि जानीबुझी हामीलाई आर्थिक रूपले वञ्चित अवस्थामा राख्ने षड़यन्त्र रचिरहेका छन्।’