कालेबुङ, ६ अप्रेलः सेवक पुलिसले हिजो ड्रग्ससहित एक युवकलाई पक्राउ गरेको छ।
लागूऔषधविरुद्ध निरन्तर कारबाहीअन्तर्गत सेवक पुलिसले हिजो सेवक थानाअन्तर्गत पारिजात नगरनिवासी एक ३० वर्षीय युवकलाई ५०८ वटा विन्डलस विन्सपास्मो फोर्ट क्याप्सुलसहित पक्राउ गरिएको हो।
केरकारअवधि ती युवकले उक्त लागूऔषध सिलगढीबाट किनेर ल्याएको र सेवक क्षेत्रमा बेच्ने योजना बनाएको स्वीकारेका छन्।
उनीविरुद्ध लागूऔषध तथा साइकोट्रोपिक पदार्थ अधिनियमअन्तर्गत मुद्दा दर्ता गरी खरसाङ कोर्ट पठाइएको छ।
स्मरणरहोस्, पछिल्लो ३१ मार्चका दिन पनि सेवक पुलिसले सेवक बजारबाट कालेबुङ १० माइल गुम्बाहट्टानिवासी एक ३५ वर्षीय युवकलाई लागूऔषधसहित पक्राउ गरेको थियो।
पछिल्लो २५ मार्चका दिन सेवक थाना प्रभारीका रूपमा तपन कुमार दास आएपछि उनले लागूऔषधविरुद्ध कारबाहीमा सक्रिय बनेका छन्। सेवक तथा संलग्न क्षेत्रलाई लागूऔषधमुक्त क्षेत्र बनाउने उनको लक्ष्य रहेको छ। यसका लागि लागूऔषधको सेवन र बिक्री वितरणमाथि निरन्तर गिद्दे दृष्टि राख्ने तथा कडा कारबाही गरिने उनले बताएका छन्।