दार्जिलिङ, ६ अप्रेलः बन्द अवस्थामा रहेको दार्जिलिङस्थित ओरेञ्ज भेल्ली चियाकमान भोलिदेखि खोलिनेछ।
सिलगढीस्थित अतिरिक्त श्रम आयुक्तको कार्यालयमा आज बसिएको एक त्रिपक्षीय बैठकमा भोलिदेखि खोलिने निर्णय लिइएको दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनका अध्यक्ष सुरज सुब्बाले जानकारी गराएका छन्।
ओरेञ्ज भेल्ली चियाकमानका श्रमिकहरूका चार्टर अव् डिमान्डबारे एक महिनापछि बैठक गरिने पनि सुब्बाले जानकारी गराए।
यसका साथै श्रमिकवर्ग र मालिकपक्षमाझ मतभेद रहेको एएलपी विषय पनि आज विस्तृत छलफलपछि यस विषयमा मालिक र श्रमिक सङ्गठनपक्षबिच सहमति भएको पनि उनले बताएका छन्।
स्मरणरहोस्, पछिल्लो २२ मार्चका दिन चियाश्रमिकहरूले राखेका माग मानिलिनका सट्टा प्रबन्धकले उल्टै सुइँकुच्च ठोकेपछि ओरेञ्ज भेल्ली चियाकमानमा अनिश्चितता सिर्जना भएको थियो भने मालिकपक्षले २८ मार्चका दिन सस्पेन्सन अव् वर्कको नोटिस टाँसेपछि यो चियाकमान बन्द भएको थियो।