दार्जीलिङ, 6 मईः आउँदो 7 दिनभित्र टिस्टा त्रिवेणीस्थित जीटीए अधीनस्थ लजले कोरोना सङ्क्रमण वा कोभिड-19 अस्पतालको रूप पाउने निश्चित भएको छ।
जहाँ कम्तीमा पनि 100 वटा पलङ राख्ने परिकल्पना तयार पारिएको छ। जसको आज उत्तर बंगालका स्वास्थ्य विभागका ओएसडी (अफिसर अन् स्पेशन ड्युटी) एसके रायको नेतृत्वमा एक शीर्ष टोलीले निरीक्षण गऱ्यो।
त्रिवेणी लजको निरीक्षण गर्नअघि ओएसडी रायले जीटीए, जिल्ला प्रशासन, पुलिस प्रशासनका साथै स्वास्थ्य विभागका शीर्ष अधिकारीहरूसँग जीटीएको मुख्यालय लालकोठीमा एक बैठक गरेका थिए।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै रायले आउँदो एक सप्ताहभित्र टिस्टा त्रिवेणीस्थित लजलाई कोभिड-19 अस्पतालको रूप प्रदान गरिने अनि यसका सम्पूर्ण पूर्वाधार तयार गरिने जानकारी गराए।
उनले भने, ‘‘गत शनिवार कालेबुङमा एक बैठक गरिएको थियो अनि कोरोना सङ्क्रमणलाई लिएर कालेबुङमा जस्तो व्यवस्था गरिएको छ, त्यो प्रशंसायोग्यको छ। यसरी नै दार्जीलिङमा पनि राम्रै व्यवस्था रहेको पत्तो लागेको छ।‘’
उनका अनुसार त्रिवेणी दार्जीलिङ पहाड़को एक अलगै स्थानमा अवस्थित छ। यहाँ कोभिड-19 अस्पताल बनाउन धेरै सुविधा हुनेछ।
यसैले आज यसको निरीक्षण गर्ने तय गरिएको रायले बताए।
अब कोभिड-19 अस्पतालका लागि के-कस्ता सामानहरूको आवश्यकता पर्छ, त्यसका लागि भोलिभित्र जीटीएले राज्य सरकारलाई पत्र पठाउने भएको छ। जसको आधारमा नै राज्य सरकारले कोभिड-19 अस्पतालमा चाहिने सामग्रीहरू उपलब्ध गराउनेछ।
ओएसडी रायका अनुसार त्रिवेणीमा बनाइने अस्पतालमा 4 देखि 5 वटा भेन्टिलेटर पनि उपलब्ध गराइनेछ तय गरिएको छ।
उल्लेखनीय छ, हालसम्म गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) क्षेत्रमा एउटा पनि कोरोना सङ्क्रमणको उपचार गर्ने अस्पताल छैन।
जसको कारण हालसम्म जीटीए क्षेत्रका कुनै व्यक्तिमा कोरोना सङ्क्रमणको लक्षण देखा परे उनीहरूलाई सिलगढ़ीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल, डा. च्याङको सुपर स्पेशियलिटी अस्पताल र दिसन अस्पतालमा लगेर उपचार गराउने कार्य भइरहेको छ।
तर, दार्जीलिङ र कालेबुङ जिल्लाको मध्य वा फेदमा पर्ने त्रिवेणीमा अवस्थित जीटीएको लजमा कोभिड-19 अस्पताल निर्माण हुनसके, यो पहाड़वासी जनताका लागि ठूलो उपलब्धि हुनेछ।
यसैबीच, एक प्रश्नको उत्तरमा अहिले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा दैनिक 800 जनाको कोरोना सङ्क्रमणको जाँच भइरहेको जानकारी गराउँदै गत केही सप्ताहअघिसम्म दिनमा केवल 20 देखि 30 वटा मात्रै जाँच हुने गरेको पनि बताए।
यसैका लागि अहिले मेडिकल कलेजका डाक्टर, नर्स साथै मेडिकल स्टाफहरूले तीन सिफ्टमा काम गरिरहेको उनको भनाइ छ।
रायले बताएअनुसार हाल उत्तर बङ्गालमा कोरोना संक्रमणको जाँचको कुनै समस्या छैन।
उनले भने, ‘‘दार्जीलिङमा हालसम्म कुनै कोरोना पोजिटिभ छैन, आगामी दिनमा पनि यस्तै होस्। तर यसका लागि प्रत्येकले सामाजिक दूरी बनाइराख्न आवश्यक छ।‘’
यसैबीच, जीटीए क्षेत्रका जनताका लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले 100 वटा पलङ रहेको कोभिड-19 अस्पताल निर्माण गरिदिने पहल गरेकीमा जीटीए बीओएका अध्यक्ष अनित थापाले मुख्यमन्त्रीलाई जीटीएवासी जनताको तर्फबाट धन्यवाद दिएका छन्।