सिलगढ़ी, ६ जुलाईः सिलगढ़ीमा फेरि कोरोना सङ्क्रमित एकजना व्यक्तिको मृत्यु भएको छ।
जानकारीका अनुसार आज बिहान ५३ वर्षीय व्यक्तिको उपचाररत् अवस्थामा कावाखालीस्थित दिसन अस्पतालमा मृत्यु भएको हो।
मृतक व्यक्ति भक्तिनगर थानाअन्तर्गत सुकान्त नगरको रवीन्द्र सारणीनिवासी रहेको बताइएको छ।
प्राप्त जानकारीका अनुसार बिमारी भएपछि ती व्यक्तिलाई शुरूमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) पठाइएको थियो।
हिजो (आइतबार) उनको कोरोना टेस्ट पोजिटिभ आएपछि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालबाट दिसन कोभिड अस्पतालमा रेफर गरिएको थियो। तर, आज सखारै उपचाररत् अवस्थामा उनको मृत्यु भयो।
उल्लेखनीय छ, हिजो पनि दिसन कोभिड अस्पतालमा उपचाररत् अवस्थामा सिलगढ़ी नगरनिगमको ३५ नम्बर वार्डस्थित रामनगरनिवासी एक ७२ वर्षीय वृद्धाको मृत्यु भएको थियो।
स्रोतः उत्तरबङ्ग संवाद