बन्सल अधीनस्थ १४ वटा चियाकमानको पक्का चिया बिक्रीका लागि लान नदिने डीटीडीपीएलयूको घोषणा

0
1038

दार्जीलिङ, ६ जुलाईः विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले भोलिदेखि दार्जीलिङ पहाड़का १४ वटा चियाकमानमा उत्पादन भएको पक्का चिया बिक्रीका लागि बाहिर लान नदिने घोषणा गरेको छ।

बन्सल ग्रुप अधीनस्थ १४ वटा चियाकमानका श्रमिकहरूलाई १५ दिनमा दिनमा दिइने ३ रोजी अझैसम्म पनि भुक्तान नगरिएको विरोधमा नै डीटीडीपीएलयूले यस्तो घोषणा गरेको युनियनका दार्जीलिङ महकुमा अध्यक्ष बालम तामाङले बताए।

उनले भने, “अब जबसम्म बन्सल ग्रुपका प्रबन्ध निर्देशक स्वयं यहाँ आएर सम्बन्धित निकायहरूसित वार्तामा बस्दैन अनि समस्याको समाधान गर्दैन, तबसम्म यस कम्पनीको अधीनमा रहेका चियाकमानहरूमा उत्पादित पक्का चिया बाहिर लानै दिइनेछैन।’’

उनले यस कम्पनीका अधीनमा दार्जीलिङ पहाड़का हेप्पीभेल्ली, पान्दाम, रागेरूङ, नागरी, चुङथुङ, रङ्मूक, सिडर्स, मुण्डाकोठी, सिबिटार, नरबुङ, अम्बटे चियाबगान आदि रहेको बताउँदै अहिलेको समय दोस्रो फ्लसको लगभग ३० देखि ३५ हजार किलोग्राम पक्का चिया यी चियाकमानहरूका कारखानामा रहेको पनि बताए।

तामाङले थप भने, “विगत धेरै समयदेखि यस कम्पनीले आर्थिक सङ्कटको स्थिति झेलिरहेको बताउँदै आइरहेको थियो अनि दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले पनि यस कम्पनीलाई सहयोग प्रदान गर्दै आइरहेको थियो। तर उनीहरूको अवस्था बुझ्दा बुझ्दै यस कम्पनीले चियाश्रमिकहरूमाथि अन्याय गर्न शुरू गऱ्यो।’’

उनका अनुसार कम्पनीले अवकाश ग्रहण गरेका श्रमिकहरूको ग्रेच्युटी भुक्तान गर्ने कार्य भएको छैन, भविष्यनिधि कोषको राशिसमेत भुक्तान गरिएको छैन।

यति मात्रै होइन, गत डेढ़ महिनादेखि यी १४ वटा चियाबगानका श्रमिकहरूलाई रोजी पनि भुक्तान नगरिएको उनको भनाइ छ।

यसैकारण बाध्य भएर भोलिदेखि यी चियाकमानहरूमा उत्पादन भएको पक्का चिया बिक्रीको लागि बाहिर लान नदिने निर्णय लिन परेको तामाङले बताए।

उनका अनुसार यसै विषय लिएर आज (सोमबार) युनियनले गोजमुमो अध्यक्ष विनय तामाङसित पनि एक बैठक गरेको थियो। जुन बैठकपछि नै युनियनले भोलिदेखि पक्का चिया बाहिर लान नदिने घोषणा गरेको हो।

उनले यी 14 वटा चियाकमानका श्रमिकहरूले लगभग ४० करोड़ बराबरको राशि पाउन बाँकी रहेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here