सिलगढ़ीमा कोरोना सङ्क्रमित दुईजनाको मृत्यु, रेकर्ड ५१ जना कोरोना सङ्क्रमित

0
1396

सिलगढ़ी, ६ जुलाईः सिलगढ़ीमा आज कोरोना सङ्क्रमित दुईजनाको मृत्यु भएको छ। यसैगरी शहरमा कोरोना भाइरसको रेकर्ड ५१ नयाँ मामिला प्रकाशमा आएको छ।

जानकारीका अनुसार सिलगढ़ी नगरनिगमको ३८ नम्बर वार्डस्थित भक्तिनगर थानाको सुकान्तनगरको रवीन्द्र सारणीनिवास ५३ वर्षीय व्यक्तिको आज बिहान उपचाराधीन अवस्थामा दिसन कोभिड अस्पतालमा मृत्यु भएको छ।

जानकारीका अनुसार बिरामी बनेपछि उनलाई शनिबार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको रेस्पिरेटरी इन्टेन्सिभ केयर युनिट (रिकु)-मा भर्ना गरिएको थियो। त्यसैदिन उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भाइरस रिसर्च एन्ड डायग्नोस्टिक सेन्टर (भीआरडीएल) पठाइएको थियो भने हिजो अपराह्न उनको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो।

रिपोर्ट पोजिटिभ आएलगत्तै उनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालबाट दिसन कोभिड अस्पतालमा रेफर गरिएको थियो। तर आज बिहान सखारै उपचाराधीन अवस्थामा उनको मृत्यु भयो।

यसैगरी नगरनिगमअन्तर्गत पाती कलोनीनिवासी २६ वर्षीय युवतीको आज अपराह्न मृत्यु भएको छ। सूत्रका अनुसार शारीरिक अस्वास्थ्य देखिएपछि यी युवतीलाई हिजो उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको रिकुमा भर्ना गरिएको थियो। उनको हिजै स्वाबको नमूना सङ्ग्रह गरी जाँचाका लागि पठाइएको थियो भने उनको पनि कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

मृतक दुवैको अन्तिम संस्कार सरकारी नियमानुसार गरिएको छ।

अर्कोतिर, आज दार्जीलिङका दुईलगायत सिलगढ़ी शहरीय क्षेत्रमा कोरोना भाइरसका रेकर्ड ५१ नयाँ मामिला प्रकाशमा आएको छ। पछिल्ला केही समययता सिलगढ़ी शहरीय क्षेत्रमा प्रतिदिन कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ। कोरोना सङ्क्रमण नगरनिगमका सबै वार्डमा फैलिएको छ।

स्रोतः उत्तरबङ्ग संवाद

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here