दार्जीलिङ, 6 अगस्तः ईस्टर्न फ्रन्टियर राइफल्स (ईएफआर) प्रति पश्चिम बङ्गाल सरकारले उपेक्षा गरेको सांसद राजु बिष्टले आरोप लगाएका छन्।
यसका साथै पश्चिम बङ्गाल सरकारले देखाएको उदासीनताले आफू व्यथित बनेको भन्दै उनले ईएफआरको गौरवलाई बचाउनका लागि बङ्गालका राज्यपाल जगदीप धनखड़, मुख्यमन्त्री ममता ब्यानर्जी, केन्द्रिय गृहमन्त्री अमित शाह र माननीय रक्षामन्त्री राजनाथ सिंहलाई अनुरोध गरेका छन्।
‘1907-मा गठित ईएफआरले उच्च सम्मान र विशिष्टताका साथ हाम्रो राष्ट्रको सेवा गर्दै आएको छ, जसमा यसले पहिलो र दोस्रो विश्व युद्ध, 1962-को भारत-चीन युद्ध, 1965-को भारत-पाकिस्तान युद्ध, र 1961-को बाङ्ग्लादेश मुक्ति युद्धमा भारतीय सेनाको एक अपरिहार्य हिस्साको रूपमा प्रदान गरेको सराहनीय सेवा सामेल छन्’, बिष्टले थप भनेका छन्, ‘ईएफआरले विभाजनको समयदेखि लिएर देशको उत्तर पूर्वमा विद्रोहमाथि नियन्त्रण गर्न, माओवादीहरूविरुद्ध युद्ध गर्न, साम्प्रदायिक दङ्गाहरूमाथि नियन्त्रण गर्न र प्राकृतिक आपदाहरूको बेलामा, तथा नागरिकहरूमाझ सौहार्दता अनि भाइचारा कायम गर्नका साथै आन्तरिक शान्ति र सुरक्षा कायम गर्ने काममा पनि ठूलो योगदान गरेको छ।’
यस्तो गौरवशाली इतिहास रहे तापनि 2010 देखि ईएफआरका तीनवटै बटालियनमा नयाँ भर्ती पूर्ण रूपमा बन्द गरिएको पनि सांसदले बताएका छन्। उनका अनुसार 2010 मा नै पश्चिम बङ्गालको सिल्दामा ईएफआरका 24 जवान माओवादीविरुद्ध लड़ाइँमा शहीद भएका थिए।
‘त्यो घटनापछि यो अति नै महत्त्वपूर्ण बलमा बितेको एक दशकदेखि कुनै नयाँ भर्ती नगरिनाले अनि अत्यावश्यक आधुनिकीकरण नगरिनाले यसको अत्यन्तै नराम्रो स्थिति हुनगएको छ। यतिका वर्षदेखि नयाँ भर्तीहरू एकाएक रोकिनाले सैनिकहरूको मनोबलमाथि गहिरो नकारात्मक प्रभाव परेको छ’, सांसदले थप भनेका छन्, ‘यस्तो गरिनु हाम्रो राष्ट्रको यस्तो गौरवशाली रक्षा बलसित गम्भीर अन्यायको मामिला हो। युद्धकला र आन्तरिक सुरक्षा कार्यमा यसको व्यापक अनुभवले गर्दा ईएफआर हाम्रो राष्ट्रको सुरक्षा मजबुत बनाउन अत्यन्तै महत्त्वपूर्ण छ।‘
अर्कोतिर ईएफआरको गौरवशाली इतिहास, यसको योगदान र आधुनिक भारतलाई आकार दिनमा यसले खेलेको महत्त्वपूर्ण भूमिकाबारे कालेबुङका डा. जीएस योञ्जन र अन्य सामाजिक सङ्गठनहरूले अवगत गराएको बताउँदै उनीहरू सबैप्रति आभार प्रकट गरेका छन्।
साथै सबै मिलेर ईएफआरलाई यसको पूर्व गौरव फिर्ता दिलाउनमा सहयोग गर्नसक्ने सांसद राजु बिष्टले बताएका छन्।