दार्जीलिङ, ६ अगस्तः गोर्खा जनमुक्ति मोर्चा-एकको श्रमिक सङ्गठन जुस्लोले सेवक-रम्फू रेलवे परियोजनामा स्थानीय श्रमिकहरूलाई नै काममा राख्नुपर्ने माग उठाएको छ।
यसै माग लिएर आज जुस्लोको एक प्रतिनिधि टोलीले यस परियोजनाका महाप्रबन्धकसित भेट गरेको छ।
जुस्लो केन्द्रीय समिति अध्यक्ष शङ्कर गुरुङको नेतृत्वमा गएको यस प्रतिनिधि टोलीमा सल्लाहकार सत्यन गिरी, सुदन राई, प्रदीप छेत्री, गोजमुमो केन्द्रीय सदस्य दिपेन निरौला, युवा मोर्चा केन्द्रीय साङ्गठनिक सचिव सुपेन्द्र प्रधान, सेवक शाखाका प्रतिनिधिहरू पनि सामेल थिए।
जुस्लो केन्द्रीय नेतृत्वहरूले बताएअनुसार स्थानीय ३७ जना श्रमिकलाई गत अप्रेल महिनामा कामबाट निकालिएको र उनीहरूका ठाउँमा बाहिरबाट ल्याइएका श्रमिकहरूलाई काममा लगाइएको थियो। यो कुरा थाह पाएपछि नै अब पुन: ती स्थानीय ३७ जना कर्मचारीलाई काममा लगाउनुपर्ने माग गर्दा उनीहरूमध्ये १९ जनालाई भोलिदेखि नै काममा लगाउन राजी भएको छ।
यति मात्र होइन, अप्रेल महीनामा निकालिएका ३७ जनालाई नै काममा लगाउने विषय लिएर माग राख्दा दुई दिनको समय दिने मुख्य प्रबन्धकले अपील गरेको पनि जानकारी गराइएको छ। आगामी मङ्गलबारसम्म प्रबन्धकले आफूहरूलाई जानकारी गराउने जुस्लो केन्द्रीय नेतृत्वहरूले बताएका छन्।
यसरी नै यस परियोजनामा कामको अवधि 12 घण्टा रहेको सम्बन्धमा पनि प्रतिनिधि टोलीले परियोजनाका प्रबन्धकसित कुरा गरेको उनीहरूका भनाइ छ।
शङ्कर गुरुङका अनुसार यसैले अब 8 घण्टाभन्दा अधिक समय काम गर्नपरे, रहल अवधिलाई ओभर टाइममा जोड़्नुपर्ने साथै सरकारी विदाहरूमा विदा नै दिनुपर्ने पनि माग राखेको छ।
जुस्लोका अनुसार गोर्खा जनमुक्ति मोर्चा-एक अनि जुस्लो स्थानीय श्रमिक साथै नागरिकहरूले नै काम पाउनुपर्ने पक्षमा छ।
यदि यस प्रोजेक्टमा बाहिरबाट ल्याएर काम लगाउँछ भने त्यसको विरोध गरिने तथा यस परियोजनाबाट हटाइएका 37 जनालाई नै यहाँ पुनः काम दिनुपर्ने जुस्लोको माग छ।